Media Network

आफ्नै परिचय भएका साहित्यकारलाई सरकारले दिएको सम्मान कागजको खोस्टो मात्रै


खबरस्टोरी संवाददाता

३ मंसिर २०७८,शुक्रबार

 नेपाल प्रज्ञा प्रतिष्ठानको ३६ औँ प्राज्ञसभाको उद्घाटनका अवसरमा आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले सत्यमोहन जोशी, बैरागी काइला, बासुदेव त्रिपाठी, गीता केशरी र प्रतिष्ठानका कुलपति गंगा उप्रेतीलाई लेखक परिचय पत्र बाँडे । तर नेपाल प्रज्ञा प्रतिष्ठानले वितरण थालेको ‘लेखक स्रष्टा परिचयपत्र’ माथि भने  स्वयं स्रष्टाहरूले नै प्रश्न उठाएका छन् । साहित्यकारको पहिचान उनीहरुको सिर्जनाले गराउँछ, परिचयपत्रको नाममा सरकारले दिएको सम्मान कागजको खोस्टो मात्र हो भन्दै प्रज्ञाले बाँड्ने परिचयपत्रको औचित्यमाथि स्रष्टाले बहस थालेका हुन् ।

यसै सन्दर्भमा कलाकार, साहित्यकार तथा लेखक श्रीकृष्ण सिंखडा साहित्यकर्मी परिचयपत्र वितरणको विपक्षमा खुलेरै खडा भएका छन् । 

यसबारे  कलाकार, साहित्यकार तथा लेखक श्रीकृष्ण सिंखडाको धारणा के छ ?

सिंखडा भन्छन्, प्रधानमन्त्री शेरबहादुर देउवाले संस्कृतिविद् सत्यमोहन जोशीलाई साहित्यकार परिचयपत्र दिए । त्यो सरकारले दिएको परिचयपत्र हो । सत्यमोहन जोशीको परिचय सरकारलाई हिजोमात्र थाहा भएछ । त्यस्तै, अन्य  जनताबीच चिरपरिचित साहित्यकारहरुलाई पनि परिचयपत्र वितरण गरियो।

उनीहरुले खेलेको मुलुकप्रतिको भूमिका, घामपानी अनि आरोह–अबरोहको अवमूल्यन गर्दै सरकारले भएको र पाएको परिचयसमेत खतम बनाउन खोज्यो। सरकार गम्भीर गल्ती गर्दै छ यो मामिलामा । कलाकार, साहित्यकार र सर्जकले आफ्नो परिचय आफैँ निर्माण गर्छन्। उनीहरुले निर्माण गरेको जगलाई परिचयपत्रको बहानामा मक्याउने दुस्साहस भएको देख्दा दुख लागेको छ।

आवेदन दिएर सर्जक हुनुपर्ने यो कहाँको चलन हो ? के थिति बसाल्न खोजिएको हो? यो व्यापक छलफलको विषय बन्नुपर्दछ। प्राज्ञिक निकायले लहडबाजीमा यो प्रस्ताव गरेर सरकारलाई बाध्य पारेको मलाई महसुस भएको छ। सरकार पनि विद्वानहरुले भनेको कुरा हो कि क्या हो भनेर निर्णयमा पुग्यो भन्ने लाग्छ मलाई। ती विद्वान अनि प्राज्ञ चाहिँ कस्ता हुन्, साहित्यकार बन्न आवेदन दिन आऊ भन्ने। नेपालको साहित्य र सिर्जनाको नमज्जाले धज्जी उडेको छ।

मुलुकमा मजाकका बिषय धेरै थिए। साहित्यकार अनि कलाकर्मीलाई परिचय पत्र दिएर रकेट झैँ मज्जाले उडाए। बेलैमा संवेदनशील बनी सरकारलाई परिचयपत्र वितरण कार्य रोक्न म अपिल गर्दछु। यसले नेपालको साहित्य र कलामा दीर्घकालीन असर गर्ने प्रष्ट छ।

यसले क्षमताले बन्ने भन्दा चाकडीले जन्मनेको संख्या बढ्न जान्छ। आखिर चाकडीको कारण देश नै बर्बाद भएको छ। त्यस्तै साहित्यलाई बर्बाद पार्न कहाँ पाइन्छ? साहित्यकारले आफ्नो परिचय आफैँ बनाउँछन्। दिएको परिचय स्वीकार्य छैन्। सर्जकको मानमर्दन गर्न पाइँदैन्। बरु साहित्यको बजारको ब्यबस्थापन कसरी गर्ने, त्योतिर सरकार लागोस्। हामीले निर्माण गरेका फिल्म कहाँ देखाउने, त्यसको बजार खोजौँ। कला र संस्कृतिको सम्बर्द्धन एबम प्रबर्द्धन गरौं। सबै मिलौँ। सर्जकलाई सम्मानजनक बाँच्ने वातावरण निर्माण गरौँ। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद