Media Network

९५ रनमा समेटियो पीएनजी, सन्दीपले लिए पाँच विकेट


खबरस्टोरी संवाददाता

२९ फाल्गुन २०७९,सोमबार

काठमाडौं । स्पिनर सन्दीप लामिछानेले ५ विकेट लिएपछि पपुवा न्यूगिनी ९५ रनमा नै अलआउट भएको छ । आईसीसी विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपाली बलरले पीएनजीका ब्याट्सम्यानलाई कुनै मौका दिएनन् ।

सन्दीपले आफ्नो अन्तिम ओभरको अन्तिम बलमा यूएईका ११ औं ब्याट्सम्यानलाई बोल्ड गर्दै आफ्नो पाँच विकेटको सफलता पाएका हुन् । नेपालका अन्य दुई स्पिनर ललित राजवंशी र कुशल मल्लले आपसमा दुई–दुई विकेट बाँडे भने सोमपाल कामीले एक विकेट लिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पीएनजीले पाँच रनमा नै पहिलो विकेट गुमाएको थियो । आज पनि स्पिनर राजवंशीले नेपाललाई पहिलो सफलता दिलाए । त्यसपछि अन्य ब्याट्सम्यानहरु पनि क्रिजमा टिक्न सकेनन् । पीएनजीका ६ जना ब्याट्सम्यान दोहोरो अंकमा रन नबनाई आउट भए । कप्तान आसाद भाला ३१ बलमा २ चौकासहित सर्वाधिक २० रन बनाएर सन्दीप लामिछनेको बलमा क्याचआउट भए । सेसे बाउ १८ रनमा बोल्ड भए ।

ओपनर हिरीहिरीलाई १४ रनमा सोम्पाल कामीले करण केसीबाट क्याचआउट गराउँदै पभेलियन फर्काउँदा, चार्ल्स अमिनीले १६ रनको योगदान गरे ।

सनसनीपूर्ण बलिङ गरेका सन्दीप लामिछानेले १० ओभरमा १ मेडन राख्दै २५ रन खर्चिएका थिए । पहिलो खेलमा पीएनजीलाई ५२ रनले पराजित गरेको नेपालले दोस्रो खेलमा यूएईमाथि १ सय ७७ रनको शानदार जित निकाल्दै एकदिवसीय मान्यता जोगाउन सफल भएको थियो । बाँकी दुई खेल जिते नेपालले शिर्ष तीनमा रहेर विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउने छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद