Media Network

नेपाल-भारत सीमा दुई दिन बन्द


खबरस्टोरी संवाददाता

२६ माघ २०७८,बुधबार

दार्चुला। भारतको उत्तराखण्डमा १४ फेब्रुअरीमा हुने विधान सभा चुनावका लागि नेपाल–भारत सीमानाका करिब ६० घण्टा बन्द हुने भएको छ । चुनावलाई लक्षित गरी २९ माघ बेलुका ५ बजेदेखि ३ फागुन बिहान ७ बजेसम्म सीमानाका बन्द हुने दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । १ र २ फागुनमा पूर्ण रुपमा सीमानाका बन्द हुने उनको भनाइ छ । 

दार्चुलामा नेपाल–भारत जोड्ने लाली, जोलजिवी, दत्तु, खलंगा, तिग्रम र सीतापुल गरी ६ वटा सीमा पुल छन् । सीमा पुलबाहेक लेकम क्षेत्रमा महाकाली नदीमाथि ट्युब र व्यास क्षेत्रमा तुइनको प्रयोग गरी नेपाल–भारत आवतजावत गर्ने गरिएको छ । 

सीमापुलहरू दैनिक बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म गरी १२ घण्टासम्म नेपाल–भारत आवत जावतका लागि खुला हुन्छ । राति अत्यावश्यक कामका लागि मात्रै खोल्ने गरिएको छ । 

चुनावको समयमा १२ फेब्रुअरी बेलुकादेखि १५ फेब्रुअरी बिहानसम्म सीमानाका बन्द गरिने भारतीय प्रशासनबाट अनौपचारी जानकारी आएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए । निर्वाचनको समयमा सीमा क्षेत्रमा शान्ति र सुरक्षा व्यस्थापनका लागि सहयोगसम्बन्धी हालै सम्पन्न नेपाल–भारत सीमा बैठकमा छलफल गरिएको उनले बताए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद