Media Network

भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण: १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा आज हस्ताक्षर हुँदै


खबरस्टोरी संवाददाता

१९ पुष २०८०,बिहीबार

काठमाडौं । नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस।जयशंकर बिहान १० बजे काठमाडौं आइपुग्दैछन् ।

बैठकमा सहभागी हुन काठमाडौं आउन लागेका भारतीय विदेशमन्त्री जयशंकर नेतृत्वको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वागत गर्ने छन् ।

भारतीय प्रतिनिधिमण्डलमा विदेशमन्त्री जयशंकर, विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बाग्ची, विदेश मन्त्रालय अन्तर्गत सीमा व्यवस्थापन लगायतका अधिकारीहरु छन् ।

नेपालमा रहँदा उनले उच्चपदस्थ राजनीतिक नेतृत्वहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ। दूतावासका अनुसार मन्त्री जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न उनी बिहान ११ बजे शितलनिवास जानेछन् भने १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट हुनेछ।

साँझ ६:१५ वजे परराष्ट्र मन्त्रालयले सोल्टी होटलमा रात्रि भोजको आयोजना गर्नेछ । परराष्ट्रमन्त्री एनपी साउदले आयोजना गर्ने रात्रिभोजमा मन्त्री जयशंकर लगायत नेपालका नेता, सांसद र सरकारी अधिकारीहरूको उपस्थिति रहनेछ ।पुस २० गते बिहान ८ बजे उनले पशुपतिको दर्शन गर्नेछन् भने ९ बजे पुस्तकालय उद्घाटन गर्नेछन् । त्यसपछि उनले त्यहाँ पुनः निर्माणका कामहरू हेर्ने कार्यक्रम रहेको छ ।

संयुक्त आयोगको बैठक सकेर भारतीय विदेशमन्त्री जयशंकर शुक्रबार दिल्ली फर्किने कार्यक्रम छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद