Media Network

इलाम–२ मा सुहाङ जिताउन ओलीको दौडधुप


खबरस्टोरी संवाददाता

६ बैशाख २०८१,बिहीबार

इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार ५ वैशाख मंगलबारेमा आयोजित सभालाई सम्बोधन गर्न पुगे ।ओलीले इलाममा लगभग २४ घण्टा बिताए। इलाम बजारको ‘होटल ग्रिन भ्यू’ को कोठा नम्बर २१० मा ओली वास बसे। राति अबेरसम्म इलामका नेता, कार्यकर्ता तथा मतदातासँग भेटघाट र अन्तर्क्रिया गरे।

सुहाङका बाबु सुवास यही क्षेत्रबाट २५ वर्षसम्म लगातार पाँचपटक चुनाव जितेका नेता हुन्। दुवैपटकका संविधान सभा अध्यक्षसमेत रहेका नेम्बाङ कसैलाई नचिढ्याउने र रूखो नबोल्ने स्वभावका नेता थिए।

बाबु सुवासकैजस्तो छोरा सुहाङको स्वभावबाट ओली पनि प्रभावित देखिए। बुवाप्रतिको सहानुभूति मात्रै नभई उस्तै स्वभावले पनि सुहाङलाई टिकट दिनैपर्ने ओलीको बुझाइ थियो। सोही बुझाइ कार्यकर्तामाझ व्यक्त गरेर ओलीले मंगलबारेमा आयोजति सभामा कसैप्रति नकारात्मक सम्बोधन गरेनन्। बरु, सुहाङलाई जिताएर पठाएपछि इलामको विकासको जिम्मेवारी आफैँ लिने उद्घोष गरे।

एमालेले मंगलबारेमा बुधबार बृहत् सभा गरेको थियो। अध्यक्ष ओलीसँगै माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी, परिवार दल लगायतका नेता तथा कार्यकर्ता पनि सभामा सामेल थिए। सुहाङले चुनावी सभामा बुवालाई पटकपटक सम्झे। ‘विगतका निर्वाचनमा बुवालाई जुन भरोसा गर्नुभयो,’ सुहाङले स्मरण गर्दै भने, ‘मैले गएको तीन सातामा जतिलाई भेटेँ, उहाँहरूले बुवालाई सम्झीसम्झी रोएको देखेर भावुक भएँ।’

लगभग १५ मिनेट भाषण गरेका उनले कसैप्रति आरोप प्रत्यारोपको भाषा बोलेनन्। सामाजिक सद्भाव र सामाजिक न्याय कायम गर्न ओलीले इलामबाट आह्वान गरेका छन्।


Share:
Reaction :
ताजा समाचार
खेलकुद