Media Network

कोसी प्रदेशसभामा बजेटसम्बन्धी प्रतिस्थापन विधेयक पेस


खबरस्टोरी संवाददाता

१० मंसिर २०८०,आईतवार

विराटनगर ।  कोसी प्रदेश सरकारको बजेटसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने विधेयक प्रदेशसभामा पेस भएको छ ।सभाको आज बसेको बैठकमा आर्थिक मामिलामन्त्री समेतको जिम्मेवारीमा रहेका मुख्यमन्त्री केदार कार्कीले आर्थिक र विनियोजनसम्बन्धी प्रतिस्थापन विधेयक पेस गरेका हुन् ।

 उनले ३६ अर्ब ७४ करोड ३५ लाखको बजेट सभामा पेस गरेका छन् । जसमध्ये चालूतर्फ १२ अर्ब ६८ करोड १० लाख र पुँजीगततर्फ २० अर्ब ३६ करोड १५ लाख छ ।

कार्कीले सभामा पेस गरेको विधेयकमार्फत यसअघि समावेश साना बजेटका टुक्रे योजना कटौती गरेका छन् । सबै मन्त्रालयका कार्यक्रम घटीमा २५ लाखको भएको कार्कीले जनाए ।

सरकारले दुग्ध किसानलाई लक्षित गर्दै धुलो दूध र घिऊमा अनुदान, नवप्रवर्तन कार्यक्रम, सौर्य ऊर्जा प्रणालीमार्फत चल्ने स्वचालित तुइन, हात्तीमैत्री जंगल करिडोर, इटहरीमा जलन अस्पताल, काकरभिट्टा र जोगबनी नाकामा विदेशी पर्यटक कक्ष, ‘जसको जंगल उसको मंगल’ भन्ने नारासहित जंगली जनावरका लागि  संरक्षण अभियान, १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार, तमोरको पानी धरान योजना आदि प्रतिस्थापन विधेयकमा घोषणा गरिएको छ ।

तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले गत जेठ ३२ गते अध्यादेशमार्फत ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट ल्याएका थिए । पूँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार तथा चालूतर्फ १७ अर्ब ९९ करोड ९२ लाख ५८ हजार रुपैयाँ र वित्तीय व्यवस्थातर्फ एक करोड विनियोजन गरिएको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद