Media Network

रिहा भएपछि पहिलोपटक सानेपामा बालकृष्ण खाँण


खबरस्टोरी संवाददाता

१३ पुष २०८०,शुक्रबार

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा रिहा भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण पार्टी केन्द्रीय समिति बैठकमा सहभागी भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि गत वर्ष वैशाख २७ गते पक्राउ परेका उनी मंसिर २९ धरौटीमा रिहा भएका थिए । कांग्रेसका प्रभावशाली नेता खाँण एक वर्षपछि पार्टी कार्यालय सानेपा छिरेका हुन् ।
गतवर्ष भदौ ५ मा बसेको केन्द्रीय समिति बैठकपछि पहिलोपटक खाँण आज केन्द्रीय समिति बैठकमा सहभागी भएका हुन् । यसअघि साउन २ र असोज ४ मा केन्द्रीय समिति बैठक बस्दा उनी केन्द्रीय कारगार सुन्धारमा थिए । उक्त बैठकमा खाँणलाई पार्टीको केन्द्रीय सदस्यबाट निलम्बन गर्ने–नगर्नेबारे चर्को बहस भएको थियो ।
कांग्रेस संस्थापन पक्षको अडानले खाँणको निलम्बन रोकिएको थियो । बिहीबारदेखि पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकको दोस्रो दिन खाँण सहभागी भएका छन् । नियमित स्वास्थ्य जाँच गराउनुपर्ने भएकोले  उनी हिजो बैठकमा सहभागी भएका थिएनन् ।
Share:
Reaction :
ताजा समाचार
खेलकुद