Media Network

रविको बचाउ गर्दै ओलीले भने– फैसलाले न्याय कसलाई भयो ? रवि फुत्त संसद् छिरेको होइन


खबरस्टोरी संवाददाता

२२ माघ २०७९,आईतवार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बचाउ गर्दै सर्वोच्चको फैसलाको आलोचना गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

“अदालतको फैसलाले कसलाई फाइदा भयो ? यहाँ ढोका खुला रहेछ भनेर फुत्त संसद् पसेको होइन । निर्वाचन आयोगमा उजुरी परेको र बदर गरेको होइन र ?,” उनले भने, “निर्वाचन आयोगले उमेदवारी सदर गरेको होइन र ?  प्रक्रियागत त्रुटि हुनासाथ सांसद, गृहमन्त्री, सभापति गयो ? जान मिल्छ ?”

उनले अदालतको फैसलाले कसलाई न्याय भयो भन्दै आपत्ति जनाएका छन् ।

“फैसलाले न्याय भयो कि भएन ? लामिछानेलाई न्याय भएन भने कसले पायो न्याय ? फैसलामा कसले पायो न्याय ? यसको जानकारी चाहिँदैन ?,” ओलीले भने, “संस्था, व्यक्ति कि समुदाय ? बुझिनसक्नुखालको भयो । रवि लामिछानेसँग मेरो कुनै सम्बन्ध छैन । नाता सम्बन्ध पनि छैन । मेरो पार्टीको पनि होइन । तर एउटा नागरिकको हैसियतले शुक्रबार बेलुकी देखि आइतबार बिहानसम्म नागरिकता के हो ? नागरिकता के भयो ? मैले राम्रो बुझेको छैन । आइतबार बेलुका फेरि पुरानै मितिको पुरानै नागरिकता जारी छ ।”

उनले प्रक्रियागत त्रुटिका कारण भएको गल्तीमा पाएको सजायले भोलि समस्या पर्ने बताए ।

“कार्यालय खुल्दा नागरिकता प्राप्त भइसकेको छ । यो बिदाका दिनमा प्रक्रियागत त्रुटिका कारणले यस्तो गर्न मिल्छ ?,” ओलीले भने, “किन यस्तो फैसला ? अर्को कुरा विदेशमा रहेका नेपालीहरुको सन्दर्भमा मतदानको अधिकार भन्दैछौँ । उमेदवार हुने अधिकार पनि त होला नि ? हामी पासपोर्ट, भिसा, नागरिकता, पीआर के के को छानबिन गर्छौँ ? त्यो बीचमा ? आयोगले उमेदवार हुन योग्य छ भनेको होइन ? यो समस्याको समाधान भोलि कसरी गर्छौँ ? मताधिकार विदेशी नागरिकले प्राप्त गर्न पाउँछ कि पाउँदैन ?  गैर आवासीय नेपालीमा के असर पर्छ ? उनीहरुको सम्पत्तिमा के असर पर्छ ? अनेक प्रश्न होलान् ? यसले दुरगामी असर के राख्छ ?”

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद