Media Network

वैवाहिक अंगीकृत नागरिकताको अडान लत्याउदै माओवादी केन्द्र


खबरस्टोरी संवाददाता

६ श्रावण २०७९,शुक्रबार

काठमाडौं  / नेकपा (माओवादी केन्द्र)ले वैवाहिक अंगीकृत नागरिकताको विषयमा राख्दै आएको अडान त्यागेकोे छ । 

प्रचलित नेपाल नागरिकता ऐन २०६३ अनुसार नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाले विवाह दर्ता गरेर नागरिकता प्राप्तिको प्रक्रिया अगाडि बढाउन सक्छन् । तर, यसलाई खुकुलो प्रावधान भन्दै माओवादी केन्द्रले निश्चित अवधि नेपालमा निरन्तर बसोबास गरेपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता जारी गर्ने व्यवस्थाका लागि लामो समयदेखि अडान लिइरहेको थियो । 

माओवादी केन्द्रको यही अडान र प्रचलित व्यवस्थाकै निरन्तरताको पक्षमा रहेको सत्तारुढ नेपाली कांग्रेसको अडानका कारण नागरिकता विधेयक अगाडि बढ्न सकिरहेको थिएन । खासगरी तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले वैवाहिक अंगीकृत नागरिकताका सन्दर्भमा नेपालमा विवाह गरेर आएर निरन्तर ७ वर्षसम्म बसोबास गरेपछि मात्रै जारी गर्ने, ७ वर्षसम्मका लागि राजनीतिकबाहेकका अधिकार प्रयोग गर्न पाउने गरी आवासीय अनुमति पत्र दिने प्रावधानका पक्षमा औपचारिक निर्णय नै गरेको थियो । यो निर्णयमा तत्कालीन नेकपा अडिग रहँदा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता विधेयक पारित गरे पनि हाउसमा पुगेर अड्किएको थियो । 

७ वर्षे प्रावधानको पक्षमा निर्णय गर्ने नेकपा अहिले तीनवटा दलका रुपमा छ । नेकपा एकता भंग भएपछि नेकपा एमाले र माओवादी केन्द्र ब्युँतियो, एमाले फुटेर नेकपा एकीकृत समाजवादी दल बन्यो । तीनवटा दलमा विभाजित भएपछि तत्कालीन नेकपाको अडानमा अहिले पनि अडिग रहनेमा नेकपा एमाले मात्रै छ । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी वैवाहिक अंगीकृत नागरिकतामा प्रस्ताव गरेको ७ वर्षे प्रावधानमा मौन बसेका छन् ।

तत्कालीन नेकपा नेतृत्वको सरकार ढलेर नयाँ सरकार बनेपछि पनि निरन्तर नागरिकता विधेयक अगाडि बढाउने प्रयास भयो । तर, माओवादी केन्द्रले वैवाहिक अंगीकृत नागरिकताका सन्दर्भमा आफुहरूको पूर्ववत अडान कायमै राख्यो । माओवादी केन्द्रको निरन्तरको अडानका कारण वर्तमान सरकारले हाउसमा रहेको नागरिकता विधेयक अगाडि बढाउन सकेन ।

गृहमन्त्री बालकृष्ण खाणले वैवाहिक अंगीकृत नागरिकतामा माओवादी केन्द्रको अडानका कारण सरकारलाई अप्ठ्यारो परेको बताउँदै आएका थिए । कुनै हालतमा राज्य व्यवस्था समितिको प्रतिवेदनअनुसार नागरिकता विधेयक अगाडि बढाउनुपर्ने माओवादी केन्द्रको अडान र कुनै हालतमा वैवाहिक अंगीकृत नागरिकताबारे प्रचलित व्यवस्था चलाउन नहुने नेपाली कांग्रेसको अडानका कारण वर्तमान सरकार गठन भएको एक वर्षसम्म नागरिकता विधेयकमा कुनै प्रगति हुन सकेन । अन्ततः सरकारले राज्य व्यवस्था समितिले पारित गरेको नागरिकता विधेयकसहितको प्रतिवेदन (नागरिकता ऐन संशोधन विधेयक) फिर्ता लियो र नयाँ नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधिसभामा दर्ता गरेर अगाडि बढाएको छ ।

नयाँ नागरिकता विधेयक आएपछि भने माओवादी केन्द्रले पूर्ववत अडान छोडेको हो । नागरिकता विधेयकमाथि संशोधन हाल्दै नेकपा एमालेले वैवाहिक अंगीकृत नागरिकता ७ वर्षपछि मात्रै जारी हुन सक्ने व्यवस्था माग गरेको छ । तर, विगतमा ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता जारी गर्नुपर्छ भन्दै आएको माओवादी केन्द्र यसपटक वैवाहिक अंगीकृत नागरिकताको प्रावधानका विषयमा कुनै संशोधन नहालेर मौन बसेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद