Media Network

अमेरिकामा बसेर नेपाली पढाउँदै गरेका नेपाली


खबरस्टोरी संवाददाता

४ असार २०७९,शनिबार

काठमाडौं । भक्तपुरको गुण्डुमा जन्मिएका राजेन्द्र वाग्ले झण्डै १२ वर्षदेखि अमेरिकामा बस्दै आएका छन् । भक्तपुरमा जन्मिएर काभ्रेको पनौतिस्थित मामाघरबाट एसएलसी उत्तीर्ण गरेका राजेन्द्रले झण्डै १२ वर्ष नै अध्यापन गराउन गराउन थाले । 

एसएलसी उत्तीर्ण भएपछि अध्यापन पेशा अंगाल्दै एमफिलसम्मको अध्ययन पूरा गरेका राजेन्द्र त्यसपछि भने मनग्गे आर्थिक उपार्जनको खोजीमा अमेरिका पुगे । 

मनग्गे आर्थिक उपार्जन गरी विलासी जीवन जिउने अभिलाषाले अमेरिका पुगेका राजेन्द्र यतिबेला अमेरिकाको टेक्सासस्थित नेपाली समाज टेक्सास (एनएसटी)का अध्यक्षसमेत छन् । 

अमेरिकामा रहेर अमेरिकाकै राजनीतिमा पनि वाग्ले उत्तिकै सक्रिय देखिन्छन् । टेक्सासस्थित स्थानीय पार्टीको सदस्यता लिएर नेपालीहरूले अमेरिका राज्य संयन्त्रमासमेत पहुँच पुर्याएका छन् । 

टेक्सासमा नेपाली पाठशाला 

अमेरिकामा सबै भन्दा बढी नेपालीहरु बसोबास गर्दै आएको राज्यको रुपमा टेक्सासलाई चिनिन्छ । जहाँ नेपालीहरु आफैले जग्गा जमिन किनेर घर बनाएरै बसिरहेका छन् । 

विशेषतः त्यहीँका नेपालीहरुलाई लक्षित गरेर नेपाली समाज टेक्सासले नेपाली भाषाको विद्यालय सञ्चालन गर्दै आएको छ । 

सन् २००४ फेब्रुअरीमा स्थापना भई सञ्चालनमा रहेको ‘ग्लोबल नेपाली पाठशाला’ अर्थात एनएसटी ग्लोबल नेपाली स्कुलमा चार सय भन्दा बढी नेपालीका छोराछोरीले अध्ययन गर्दै आएका छन् । विद्यालयमा पढाउने अधिकांश नेपाली शिक्षकहरु नै छन् । नेपालमा शिक्षा क्षेत्रमा काम गरेर अमेरिका पुगेकाहरु यो विद्यालयमा भोलिन्टियर रुपमा शिक्षण पेशामा संलग्न छन् । विद्यालयले केही अमेरिकी शिक्षकसमेत नियुक्त गरेको छ ।

नेपाल छाडेर अमेरिकामा रहेका नेपालीहरुका छोराछोरी अमेरिकाकै बोलीचाली, रहनसहन, संस्कृतिसँग भिज्ने भएकाले नेपाली भाषा र संस्कृति चिनाउनका लागि नेपाली विद्यालय सञ्चालन गरिएको विद्यालयका प्रिन्सिपल विजयराज भट्टराई बताउँछन् । 

यो विद्यालयमा नेपाली विषयका साथै नैतिक शिक्षा, पब्लिक स्पिकिङ, नेतृत्व विकाशका साथै मनोरञ्जनात्मक कार्यक्रमहरु नृत्यदेखि योगा समेतको कक्षा सञ्चालन हुने गरेको छ ।

असहाय नेपालीहरुको सारथि 

सन् १९९८ मा स्थापना भएको गैरआवासीय नेपालीहरुको संस्था नेपाली समाज टेक्सास (एनएसटी) शिक्षा क्षेत्रमा मात्र नभई असहाय नेपालीहरुको पनि सारथि बनेको छ । 

विभिन्न समयमा अमेरिका पुगेर समस्यामा परेका नेपालीहरुदेखि मर्दापर्दाको पनि लागि पनि एनएसटी सहारा बनेको संस्थाका अध्यक्ष राजेन्द्र बताउँछन् । 

कतिपय अवस्थामा भएका दुर्घटनामा उपचारका लागि साथ सहयोगदेखि भवितब्य घटनामा ज्यान गुमाएका नेपालीको शव नेपाल पठाउन सहयोग गर्ने काम पनि यो समाजले गरिरहेको छ । 

अमेरिकामै बुद्ध तथा पशुपतिको मन्दिर 

अमेरिकालाई कर्मथलो बनाएका टेक्सासमा रहेका नेपालीहरुको आफ्नो समाज मात्रै विस्तार भएको छैन, उनीहरुले नेपाली धर्मसंस्कृति जोगाइराख्न आफै मठ मन्दिरसमेत बनाएका छन् । 

एनएसटीकै पहलमा टेक्सासमा बुद्ध मन्दिरदेखि पशुपतिको मन्दिरसमेत निर्माण गरिएको छ । उनीहरुले नेपाली सांस्कृति तथा आध्यामिक केन्द्र बनाएर अमेरिकामा नै नेपाली धर्म संस्कृति जोगाएका छन् । अहिले झण्डै ६ मिलियन बराबरको सांस्कृतिक तथा अध्यामिक केन्द्रको मेघा प्रोजेक्ट चलिरहेको वाग्ले बताउँछन् । 

एनएसटीबाट नै उनीहरुले नेपाली चेम्बर अफ कमर्स पनि जन्माएका छन् । जसले नेपाली ब्यावसायहरुलाई प्रवद्र्धन र विकास गर्न मद्दत गरेको छ ।

महाभूकम्पमा चार लाख डलर सहयोग

गैरआवासीय नेपालीहरुको हितमा काम गरिरहेको नेपालीहरुको संस्था एनएसटीले नेपालमा विपद् परेकाबेला पनि आर्थिक सहयोगहरु गर्ने गरेको छ । ठूलो संख्यामा सदस्य रहेको एनएसटीले नेपालमा २०७२ सालको भूकम्पकाबेला चार लाख डलर संलकन गरी नेपाल पठाएको संस्थाका अध्यक्ष वाग्ले बताउँछन् । 

भूकम्पका बेला नेपालको शैक्षिक क्षेत्रमा एनएसटीको सहयोग महत्वपूर्ण बनेको थियो । अमेरिकामा रहेका नेपालीहरुबाट सहयोग जुटाएर पठाएको चार लाख डलरबाट झण्डै एक दर्जन विद्यालय पुनःनिर्माणमा राहत मिलेको थियो । 

पछिल्लो समय कोभिड संक्रमणको महामारीबेला महाविर पुनको संस्थामार्फत एनएसटीले पचासौं हजार डलर पठाएर सहयोग गरेको वाग्लेले बताए । 

--

(हरेक शनिवार प्रकाशित हुने परदेशीको कथा स्तम्भमा हामी नेपाल बाहिर रहेका नेपालीहरुको कथा समेट्ने गरेका छौं ।)-सम्पादक


Share:
Reaction :
ताजा समाचार
खेलकुद