Media Network

अमेरिकामा मःम बेचेर नेपाल चिनाउने कृष्ण


खबरस्टोरी संवाददाता

२१ जेष्ठ २०७९,शनिबार

काठमाडौं । झापाको शनिश्चरेमा माध्यामिक तहसम्म पढाइ सकेर उच्च शिक्षाका लागि काठमाडौं आएका कृष्ण श्रेष्ठले काठमाडौको आरआर क्याम्पस हुँदै त्रिचन्द्र कलेजबाट स्नातकोत्तरसम्मको अध्ययन पूरा गरे । उच्च शिक्षाका लागि जतिबेला उनी काठमाडौं आए, त्यतिबेला नै उनले जमलमा कम्प्युटर इन्स्टिच्यूट पनि सञ्चालन गरे । 

बैंक कर्मचारीदेखि सरकारी कर्मचारीहरु गरी हजारौंलाई कम्युटर चलाउन सिकाएका श्रेष्ठ भने यतिबेला अमेरिकाको भर्जिनियास्थित च्यान्टली सिटीमा मःमको पसल चलाइरहेका छन् । 

मःमसँग जोडिएको देश 

भर्जिनियाको डालास इन्टरनेशनल एयरपोर्ट (आईएडी) नजिक भर्जिनियाको च्यान्टली सिटी रहेको ‘एभरेष्ट मःम प्लस’ सञ्चालन गरी श्रेष्ठले नेपाल चिनाइरहेका छन् । 

च्यान्टली सिटीस्थित ग्यास स्टेशनभित्र ३० वर्षे इतिहास बनाएको क्रिष्पी क्रन्ची चिकेन एण्ड हण्ट ब्रदर्स पिज्जा छ । त्यही ठाउँमा उनले मःम पसल चलाउँदै आएका छन् ।  उनलाई श्रीमति रिताले साथ दिँदै आएकी छन् । 


काठमाडौंमा बफ मःम कमन फुड थियो । सबैलाई मःम उत्तिकै मिठो लाग्छ पनि । कृष्णलाई पनि मःम निकै मन पर्ने परिकार थियो ।  मःम मन परे पनि १५ वर्षअघि नेपाल छाडेर अमेरिका पुगेका कृष्णलाई त्यहाँ पुगेर मःम नै बनाएर बेच्छु भन्ने चाँही सोंचेका थिएनन् । 

त्यही ग्यास स्टेशनभित्र सानो ठाउँ लिएर उनले चिकेनसँगै मःम बनाएर बेच्न थाले । सुरुवाती समयमा चिकेन किन्न आएका ग्राहकलाई उनले नेपालको परिकारका रुपमा मःम चिनाउन थाले । 

‘नेपाली मःम, स्वाथ्यवद्र्धक हुन्छ, स्टिम फुड हो भनेर जानकारी गराएर स्वाद चखाउँथे । नेपालीहरु नै सुरुवाती ग्राहक थिए । शुरुवाती चरणमा ब्यापार राम्रो नभए पनि उत्साहप्रद नै रह्यो ।’ –उनले सुनाए । 

उनले मःमसँगै नेपाल र नेपालीलाई चिनाउने विभिन्न परिकारहरु बनाउन थाले । उनको रेष्टुरेन्टमा मःमसहित काठमाडौंमा प्रचलित मानिने समयबजी र नुडल्सको चाउमिन पाइन्छ । उनले नेपाली खानाको प्रवद्र्धन गरिरहेका छन् । 


जब ‘वासिङगटन पोष्ट’ को नजर पर्यो   

ग्यास स्टेशनभित्र मःम बेच्दै आएका कृष्ण अमेरिकाको चर्चित पत्रिका वासिङगटन पोष्टको नजरमा परे । वासिङगटन पोष्टका रिपार्टर भेलोरी प्लेचले कृष्णले बनाएको मःम धेरै पटक खाए । तर धेरै ग्राहक बनेर आएका भेलोरीले कृष्णलाई परिचय दिएनन् । 

‘अ टेष्ट अफ नेपाल इन भर्जिनिया’ शीर्षकमा कृष्ण र उनको एभरेष्ट मःम प्लस’ को बारेमा जब स्टोरी छापियो, ग्राहकलाई मःम पुर्याउन पुर्याउन नै भ्याइ नभ्याइ हुन थाल्यो ।  


वासिङगटन पोष्टमा छापिएपछि नेपाली परिकार भनेर चिनिने मःमको विश्वासनियता अमेरिकमा बढ्दै गयो । नेपाली सीमित ब्यक्तिहरुले मात्रै खाने गरेको मःमको उनका ग्राहक त्यसपछि ह्वात्तै बढ्न थाल्यो । ‘अमेरिकाको पत्रिकामा छापिएपछि अमेरिकन बच्चाहरु पनि आफ्ना अभिभावकहरुसँग आएर मःम खान थाले । तीन वर्षको बच्चादेखि ७५ वर्षको बृद्धहरुमा पनि मःमको आकर्षण देखेको छु ।’– उनले सुनाए ।  

ग्यास स्टेशनभित्र सामान्य ठाउँमा गरेको नेपालीको सानो ब्यापारको बारेमा अमेरिकाको चर्चित पत्रिकाले स्टोरी छाप्छ भन्ने उनलाई विश्वासै थिएन । त्यो आफ्नो लागि चमत्कार नै भएको श्रेष्ठ ठान्छन् । 

तीन चार पटक उनले बनाएको मःम खाएर गएका वासिङ्गटन पोष्टका रिपोर्टर भेलोरीले एक पटक पत्रिकामा ‘म तिम्रो प्रोफाइल बनाइदिन्छु’ भनेर कृष्णसँग अनुमति माग्यो । ‘मेरो लागि त्यो भन्दा खुशीको क्षण अरु के हुन सक्छ र ?’– उनको प्रश्न थियो ।   

कृष्णको समय मागेर भेलोरीले स्टोरी तयार गरे । स्टोरीका लागि कृष्णले तीन घण्टा समय दिए । त्यसपछि इमेलबाट पनि थप कुराहरु सोधियो । तर त्यतिले भेलोरी सन्तुष्ट भएनन् । उनले एक दिन पुरै समय दिए । आइतबारको दिन विहान ८ बजेदेखि बेलुका ६ बजेसम्म दिनभरी नै भेलोरीले कृष्णले मःम बनाएको प्रत्यक्ष हेरे । भेलोरीले जे देखे, ती कुराहरु सबै वासिङटन पोष्टमा छापियो ।  

अमेरिकामा ‘टाइम इज मनी’ भन्छन् । तर त्यति धेरै समय दिएर आफ्नो ब्यवसायको बारेमा रिपोर्टिङ गरेको देख्दा कृष्णले आफूलाई निकै गर्व महशुस गरे । 

अमेरिकामा बसेर नेपाली परिकार भनेर चिनाइरहेका मःमको ब्यापारलाई कृष्णले अब छिट्टै नै फ्रेन्चाइज गर्ने पनि योजना बनाएका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद