Media Network

कतारमा १० वर्षमा १८८४ नेपाली श्रमिकको मृत्यु


खबरस्टोरी संवाददाता

१ भाद्र २०७९,बुधबार

काठमाडौं । सन् २०१० यता कतारमा १ हजार ८ सय ८४ नेपाली श्रमिकको कार्यस्थलमा मृत्यु भएको दोहास्थित नेपाली दूतावासले जनाएको छ । वैदेशिक रोजगार विभागका अनुसार कतारमा मात्रै १७ लाख नेपाली श्रमिक गइसकेका छन् । 

अत्यधिक श्रमपछि क्याम्पमै सुतिरहेको अवस्थामा मृत भेटिनेको संख्या धेरै छ, तर उनीहरूका परिवारले क्षतिपूर्ति पाएका छैनन् । 

कार्यस्थलमा वा सडक दुर्घटनामा परेर ज्यान गुमाउनेका परिवारले मात्र क्षतिपूर्ति पाएका छन् जब कि त्योभन्दा बाहिर ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ८९ छ । विश्वकप आयोजनाको अनुगमन गर्ने जिम्मेवारी पाएको सर्वोच्च समितिले ठेकेदार कम्पनीलाई श्रमिकको जीवन बिमाको प्रबन्ध मिलाउन भनेको छ । तर, त्यसअघि नै ज्यान गुमाएकाहरूका परिवारको सुनुवाइ भएको छैन ।

कतारमा एक दशकमा कार्यस्थलमा ज्यान गुमाउने नेपालीको संख्या १ सय ८ सय ८४ र सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३ सय ११ छ । अचानक श्वासप्रश्वास रोकिएर ८ सय ९४, आत्महत्या गरेर २ सय ५, मिर्गौला फेल भएर १ सय ४९, हत्या भएर १५, कोभिडले १० र अन्य कारणले १ सय १६ को मृत्यु भएको छ ।

पछिल्लो पटक शुक्रबार ह्युमन राइट्स वाचले पीडित आप्रवासी श्रमिकलाई यथाशीघ्र क्षतिपूर्ति दिने संयन्त्र स्थापनाको सुनिश्चितताका लागि प्रतिबद्धता जनाउन अपिल गरेको छ । पछिल्लो १० वर्षमा कतारमा कामदारका ज्यान गएका, चोटपटक लागेका र ज्याला नपाएका थुप्रै घटना रहेको कान्तिपुर दैनिकले खबर छापेको छ ।  

Share:
Reaction :
ताजा समाचार
खेलकुद