Media Network

नेपाली साहित्य चिनाउँदै चितवनदेखि अमेरिका पुगेका गोबर्द्धन


खबरस्टोरी संवाददाता

३२ असार २०७९,शनिबार

काठमाडौं । चितवन चैनपुरका राजेन्द्र श्रेष्ठ उर्फ गोबर्द्धन पूजा लामो समयदेखि अमेरिकामा छन् । विश्वकै सबैभन्दा ठूलो सहित्यिक संस्था नेपाली साहित्य समाज (अनेसास) सँग १५ वर्षदेखि सम्बन्ध गाँस्दै आएका गोबर्द्धन पूजा अनेसासको नयाँ नेतृत्वमा हालसालै निर्वाचित भएका छन् । 

अनेसासको कार्यसमिति सदस्यबाट महासचिव, बरिष्ठ उपाध्यक्ष हुँदै २०२२–२०२४ को कार्यकालका लागि हालै अध्यक्षमा निर्वाचित भएका हुन् । विश्वको जुनसुकै कुनामा रहेर पनि नेपाली साहित्यको प्रवद्र्धन गर्न अग्रसर गोबर्द्धन अनेसास क्रियाशील रहेको विश्वका अधिकांश मुलुक पुगेका छन् ।  

नेपालमा गजलको विकासमा योगदान 

नेपालमा गजल साहित्यको प्रवर्द्धमा पनि गोबर्द्धन पूजाको उत्तिकै योगदान रहेको छ । गजलको श्रीवृद्धिकै लागि उनको अगुवाईमा २०५५ सालमा गजल मञ्च स्थापना भयो । जतिबेला नेपालमा गजलको विकास हुन सकेको थिए । 

उक्त गजल मञ्चको नेतृत्व गोबर्द्धन पूजाले नै गरे । नेपालमा रहँदा पत्रकारिता क्षेत्रका माध्यामबाट पनि उनले साहित्यमा महत्वपूर्ण योगदान पुर्याएका थिए । 

०५५ सालमा गजल मञ्चको नेतृत्व गरेका उनले २०५८ देखि ६० सालसम्म दुई वर्ष साहित्यिक पत्रकार सङ्घको सचिव भएर पनि काम गरे भने २०६० सालमै चलचित्र पत्रकार सङ्घको उप–अध्यक्ष पनि भए । 

सन् २००५ सालमा नेपालमै रहँदा उनले साहित्यकार वियोगी बुढाथोकीको अध्यक्षतामा गठित अनेसास नेपाल च्याप्टरको सहसचिव पदमा बसेर करिब ४ वर्ष कार्य गर्ने अवसर पाएका थिए । 

अनेसासमा आवद्ध भएरै अमेरिका पुगे

विश्वका ८० भन्दा बढी मुलुकमा रहेको नेपाली साहित्य सर्जकहरुलाई संगठित गर्दै आएका अनेसासमा आवद्ध भएरै गोबर्द्धन पूजा अमेरिका पुगे ।  

नेपालमा हुँदा लामो समय पत्रकारितामा पेशा अँगालेका उनलाई साहित्य सोखको विषय थियो । हुनत जब नेपाल छाडेर जो कोही नेपाली विदेश पुग्छ, नेपालको मायाँ अझ बढेर आउँछ । त्यसैले आफ्नो देश छाडेर टाढा पुग्दा नेपाली भाषा संस्कृति अनि साहित्यको मर्म अझ गहन भइदिने उनको बुझाइ छ ।  

सन् २००९ मा अमेरिकाको न्युयोर्कमा आयोजना भएको अनेसासको ‘प्रथम अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन’मा सहभागी हुन अमेरिका आएपछि औपचारिक रुममा उनले अनेसासको आजीवन सदस्यता लिए । 

साहित्यिक यात्रासँगै आर्थिक उपार्जनकै लागि अमेरिकाको यात्रा गरेका गोबर्द्धन सन् २०१३ मा अमेरिकाको बोस्टनमा रहेर  सिर्जना उत्सव, बोस्टनको संयोजक पनि बनेका थिए । त्यही वर्ष उनी उत्तर अमेरिका साहित्य प्रतिष्ठानको सदस्य पनि भए । 

अमेरिकाको बोस्टनमा बस्न थालेसँगै सन् २०१४ मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बोस्टन च्याप्टरको सदस्य भई काम गरेका उनी सन् २०१४ –२०१६ मा प्रथम कार्यकाल र सन् २०१६– २०१८ मा महासचिवको दोस्रो कार्यकाल सम्हाल्ने अवसर पाए । 

गोबर्द्धनले अहिले २४ सय भन्दा बढी आजीवन सदस्य रहेको अनेसासको मुल नेतृत्व सम्हाल्ने मौका पाएका छन् । यसअघिको प्रकाश पौडेल (माइला) अनेसासको अध्यक्ष हुँदा गोबद्र्धन बरिष्ठ उपाध्यक्ष थिए । 

३० वर्ष लामो लेखन यात्रामा

३० वर्ष भन्दा लामो लेखन यात्रामा रहेका गोबर्द्धन नेपाली भाषा संस्कृतिमा पनि पोख्त छन् । नेपाली भाषा साहित्य र भूगोलमा स्नातकोत्तर गरेका गोबर्द्धनका एक दर्जन बढी साहित्यिक कृतिहरु प्रकाशित छन् । 

झण्डै आधा दर्जन कविता संग्रह प्रकाशित गरिसकेका उनका फुटकर कविता र गजलहरु पनि प्रशस्त छन् भने कथा लेखन पनि गर्छन् ।   

उनको २०५० सालमा ‘असहमतिका पाइलाहरू’ कथा प्रकाशित भएका छन् । २०५३ मा ‘शून्यताको आँचलभित्र’ उपन्यास प्रकाशित गरेका गोबर्द्धनले २०५६ सालमा धाराबाहिक उपन्यास  ‘अब इतिहास रुँदैन’ पनि प्रकाशित गरेका थिए । 

उनका पीडा अवतार (कविता), वाचल ओठहरू (कविता), प्रेम अवतार (कविता), बिक्रीमा यो जिन्दगी (गजल), अनामनगरकी अम्बिका (कविता ) लगायतका कृतिहरु प्रकाशित छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद