Media Network

दक्ष जनशक्ति नहुँदा अग्नि नियन्त्रणमा कठिनाइ


खबरस्टोरी संवाददाता

७ भाद्र २०७९,मंगलवार

नेपालगञ्ज । नेपालगञ्जमा रहेका दमकलमा काम गर्ने दक्ष जनशक्ति नहुँदा अग्नि नियन्त्रणमा कठिनाइ भएको छ ।

आगलागीका घटना भए दमकलको पानी भर्ने स्टेशनसमेत नहुँदा आफ्नै कार्यालयमा धाउनुपर्ने बाध्यता रहेको नेपालगञ्ज उपमहानगरपालिकाका दमकल शाखाका प्रमुख झोइनबहादुर खड्काले जानकारी दिएका छन् ।

कहिलेकाहीँ हाम्रो पानी भर्न स्टेशनमा आउँदा ठूलो क्षति भइसकेको अवस्था हुन्छ उनले भने । नेपालगञ्जमा तीन दमकल रहेका छन्, तर दक्ष जनशक्ति अभावले सास्ती भइरहेको त्यसमा संलग्न व्यक्तिले गुनासो गरेका छन् ।

एउटा दमकलका लागि कम्तीमा छ जनाको जनशक्ति आवश्यक हुनुपर्नेमा नेपालगञ्जका तीन दमकलका लागि पाँच स्थायी र सात अस्थायी कर्मचारीमात्रै रहेको प्रमुख खड्काले जानकारी दिए । सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाले नेपालगञ्जमा अग्नि नियन्त्रणको अवस्था, अग्नि नियन्त्रणमा देखिएका बाधाको विषयमा अध्ययनसमेत गरिरहेको छ ।

परियोजनाका प्रमुख शिव सुवेदीले यहाँका साँघुरा बाटा र घना बस्तीले दमकलको आवतजावतमा कठिनाइ भएको उल्लेख गर्दै दमकलको पानी भर्ने स्टेशन नहुँदा त्यसले अग्नि नियन्त्रणमा ढिलाइ हुने बताए । उनले यहाँका दमकलले भारतसम्म सेवा दिएको काम प्रशंसनीय भएको बताउँदै अग्नि नियन्त्रणका केही असल अभ्याससमेत भएको उल्लेख गरे ।

बाँकेका अधिकांश स्थानीय तहमा दमकल छैनन् । कोहलपुर नगरपालिका र नरैनापुर गाउँपालिकामा मात्रै दमकल रहेको छ । बाँकेमा आठ स्थानीय तह छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद