Media Network

२१ वर्षअघिदेखि बगेको आँशु अझै थामिएन तक्माको


खबरस्टोरी संवाददाता

१३ जेष्ठ २०७९,शुक्रबार

काठमाडौं । चिकित्सा अध्ययन संस्थाको सहायक डिन तक्मा केसीले श्रीमान गुमाएको २१ वर्ष भयो । काठमाडौंको महेन्द्र पुलिस क्लवमा प्रहरी हिरासत भित्रै २१ वर्षअघि आजकै दिन उनको श्रीमान कृष्ण सेन ‘इच्छुक’को मृत्यु भएको थियो । 

तत्कालिन जनादेश पत्रिकाको सम्पादक रहेका सेन २०५९ साल जेठ ६ गते काठमाडौंबाटै पक्राउ परेका थिए । प्रहरी यातनाकै कारण सेनको मृत्यु भएको परिवारले दावी गर्दै आएका छन् । सेनको मृत्यु भएपछि पनि प्रहरीले परिवारलाई समेत कुनै जानकारी नदिएर विष्णुमतिमा लगेर दाहसंस्कार गरेको थियो । सेनको मृत्यु भएको धेरै दिनपछि मात्रै जनआस्था साप्ताहिक पत्रिकामा सेनको मृत्यु भएको समाचार प्रकाशन भएको थियो । जेठ ६ गते पक्राउ परेका सेनको जेठ ११ देखि १३ गतेकोबीचमा मृत्यु भएको भनिएपनि राज्य पक्षले औपचारिक पुष्टी नगरेपपछि जेठ १३ गतेलाई सेन स्मृति दिवस मनाउने गरिएको छ । 

२१ वर्षअघिदेखि हरेक वर्ष जेठ १३ गते इच्छुक स्मृति दिवस मनाइरहँदा सेनको जीवनसंगिनी तक्माको घाउ बल्झिरहन्छ । सेनको स्मरण गरिरहँदा जीवन संगिनी तक्माको हरेक पटक आँखा रसाउँछन् ।  

२०४८ सालमा सेनसँग तक्माको विवाह भएको थियो । विवाहपछि नर्सिङको पढाइसकेर तक्मा अधिकांश समय काठमाडौं बाहिर रहिन् । आफू काठमाडौंमा रहँदा सेन अधिकांश समय जेल जीवन ब्यतित गरिरहेका हुन्थे । त्यसैले लामो समय सेन दम्पत्तिसँगै रहन पाएनन् । 

२०५० सालमा तक्माको कोखबाट छोरी जन्मियो । सेनको मृत्यु हुँदा छोरी समिक्षा मात्र ९ वर्षकी थिइन् । उनै छोरी समिक्षा नै तक्माको सहारा बनेकी छन् अहिले । 

जब भक्कानिएर रोइन् समिक्षा 

काठमाडौंमा शुक्रबार सेन स्मृति दिवसका सन्दर्भमा पुरस्कार वितरण कार्यक्रम चल्दै थियो । कोही इच्छुकको रचना बाचन गर्दै थिए भने कोही इच्छुकको स्मरणमा लेखिएका रचना बाचन गरिरहेका थिए । 

कार्यक्रममा विभिन्न कोणबाट इच्छुकको स्मरण गरियो । त्यसपछि तक्मा भावुक बनिन् । चश्मा भित्र लुकेको आँशु पुछ्न थालिन् । 

साहित्यकार रविकिरण निर्जिवले जब ‘कृष्ण मरेको छैन’ भन्ने छन्दोवद्ध कविता बाचन गर्न थाले । हर्मोनियमको धुनसँगै रविकिरणले कृष्ण सेनको नाममा लेखिएको कविता वाचन गर्न थालेपछि छोरी समिक्षाको मन थामिएन । 

आमासँगै मञ्चमा आशिन रहेकी समिक्षा हुक्क हुक्क गर्दै डाको छाडेर रुन थालिन् । सँगसगै कवि रोए, हलमा उपस्थित दर्शक दीर्घामा रहेका सबैका आँशु रसाए । 

हत्याराहरुलाई नङग्याउने गरी कलम चलाउन अपिल 

इच्छुक प्रतिभा पुरस्कारबाट पुरस्कृत भएका श्रष्टाहरुले गरेको प्रतिवद्धताले इच्छुकप्रति ठूलो सम्मान भएको ठानिन् तक्माले ।

साहित्यमार्फत यस क्षेत्रबाट समाज परिवर्तन गर्नका निमित योगदान रहने विश्वास मात्र ब्यक्त गरिनन् । इच्छुकको सपना पूरा गर्न सबैलाई अभिप्रेरित गरिरहिन् । 

हत्यारालाई पुरस्कृत गर्ने र कमाउ भाँडो बनाउने गरेको भन्दै तक्माले दुःख ब्यक्त पनि गरिन् । सेनका आदर्शलाई पछ्याउनेहरु सबैले सेनको हत्या गर्ने हत्याराहरुका विरुद्ध कलम चलाउन अपिल गरिन् । 

अमर सिंह शाह, विक्रम थापा, कमल खाँण, विजी शाहहरुलाई नङग्याउने गरी लेख्न पनि साहित्यकारहरुलाई तक्माले अपिल गरिन् । 

जनपक्षीय पत्रकारिता गर्दै आएका सेन साहित्य क्षेत्रमा पनि उत्तिकै कमल चलाउँथे । प्रगतिवादी साहित्यमा दख्खल राख्ने सेनको मृत्युपछि परिवारले मात्र नभई तत्कालिन भूमिगत माओवादी तथा माओवादी सम्बद्ध जनपक्षीय पत्रकारहरुले पनि सेनको हत्या भएको दाबी गर्दै दोषीलाई कारबाही माग गर्दै आएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद