Media Network

बालकृष्ण खाणलाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थित गराइँदै


खबरस्टोरी संवाददाता

२९ मंसिर २०८०,शुक्रबार

काठमाडौँ । पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई कारागार प्रशासनले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउने तयारी गरिरहेको छ । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
सोही अनुसार शुक्रबार जिल्ला अदालतमा धरौटी बुझाएपछि उनी रिहा हुन्छन् । तर धरौटी बुझाएपछि खाणलाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थित गराइने केन्द्रीय कारागार स्रोतले जनाएको छ।
भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउँछु भनेर ठगेको मुद्दामा खाणलाई उपस्थित गराउन सम्पत्ति शुद्धीकरण र अख्तियारले यसअघि नै कारागारमा पत्र पठाएका थिए ।
उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डेले खाणलाई ३० लाखमा छाड्न आदेश गर्दा अर्का न्यायाधीश प्रकाश खरेल असहमत भएका थिए । न्यायाधीशहरुको राय बाझिएपछि तेस्रो न्यायाधीशको इजलासमा उक्त प्रक्रियाको सुनुवाइ भएको थियो । बिहीबार न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासले खाणलाई ३० लाखमा छाड्न आदेश दिएसँगै उनी रिहा हुन लागेका हुन् ।
कारागार प्रशासनमा निवेदन दिएपछि उनलाई रिहा गर्ने प्रक्रिया सुरु गरिने छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद