Media Network

बलात्कार मुद्दामा सन्दीप दोषी ठहर, सजायका लागि २५ गते पेशी


खबरस्टोरी संवाददाता

१३ पुष २०८०,शुक्रबार

काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोपमा दोषि ठहर गरेको छ ।जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई बलात्कार मुद्दामा दोषी रहेको फैसला सुनाएको छ। एक सातादेखि चलिरहेको अन्तिम सुनुवाइपछि जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई दोषी ठहर गरेको हो।

६ दिनसम्म चलेको बहसपछि न्यायाधीश ढकालले शुक्रबार साँझ यो फैसला सुनाएसँगै राष्ट्रिय टोलीका पूर्वकप्तान लामिछानेले थप कैद बस्नुपर्ने भएको छ।

अब अदालतले कसुर निर्धारणका लागि आगामी पुस २५ गते छुट्टै सुनुवाइ गर्नेछ। उक्त सुनुवाइबाट सन्दीपले कैद सजाय भोग्नुपर्ने अवधि तय हुनेछ।अदालतले थप सजाय निर्धारणको लागि पेशी तोक्ने आदेश जारि गरेकाे छ ।

२०७९ भदौ ६ गते राति लामिछानेले जबर्जस्ती करणी गरेको भन्दै नाबालिकाले गौशाला प्रहरी वृत्तमा भदौ २१ मा किटानी जाहेरी दिएकी थिइन्। जाहेरी पर्दा लामिछाने क्रिकेट खेल्न अफ्रिकी मुलुक गएका थिए। जाहेरी परेको सार्वजनिक भएपछि उनी नेपाली टोलीसँग नफर्की अमेरिका भागेका थिए।

इन्टरपोल मार्फत पक्राउ पर्ने सूचना पाएपछि उनी असोज २० गते नेपाल फर्किएका थिए। उनी विरुद्ध कात्तिक १४ गते जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको थियो।जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालत, पाटनले उनलाई छोडिदिएको थियो। उच्चको आदेशलाई सर्वोच्चले समेत सदर गरिदिएपछि लामिछाने थुना बाहिरै बसेर मुद्दा लडिरहेका थिए।





Share:
Reaction :
ताजा समाचार
खेलकुद