Media Network

कामको स्तरवृद्धिका लागि कार्यसम्पादन महत्वपूर्ण हुन्छः आईजीपी सिंह


खबरस्टोरी संवाददाता

२५ श्रावण २०७९,बुधबार

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले तोकिएको कार्य समय सिमामा सम्पन्न काम कारवाहीको स्तरवृद्धि गर्न कार्यसम्पादन करार सम्झौता महत्वपूर्ण साधन हुने बताएका छन् ।

प्रहरी प्रधान कार्यालयमा आज आयोजित आर्थिक वर्ष २०७९÷०८० को वार्षिक कार्यसम्पादन सम्झौता हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।कार्यक्रममा सिंहले नेपाल प्रहरीको समग्र कार्य सम्पादनको गुणस्तर अभिवृद्धि र विकास गर्ने अभिप्रायका साथ ब्लु प्रिन्टको रूपमा नेपाल प्रहरी कार्य योजना २०७९ जारी गरिएको उल्लेख गरे ।

कार्य योजनामा उल्लेखित ८ वटा लक्ष्य प्राप्तिका लागि सम्बन्धित कार्यालय प्रमुखलाई आफ्नो मातहतलाईसमेत परिचालन, उत्प्रेरित गर्न एवम् नियमित, अनुगमन र सुपरिवेक्षण गर्न समेत उपस्थित प्रहरी अधिकृतलाई निर्देशन दिए ।

कार्यसम्पादन करार बमोजिम प्राप्त उपलब्धिको मापनको आधारमा सांगठनिक सफलताको मूल्याङ्कन हुने र यसको कार्यान्वयनको अवस्था र स्तरलाई सम्बन्धित प्रहरी ईकाई र कार्यालय प्रमुखको वार्षिक कार्यसम्पादन मुल्याङ्कनको आधारको रूपमासमेत लिइने उनको भनाई थियो ।

अपराधको रोकथाम, नियन्त्रण तथा अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन लगायतका प्रहरी कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउन साथै प्रहरी कर्मचारीहरूको व्यवस्थापन र क्षमता अभिबृद्धि गर्ने र प्रशासनिक काम कारवाहीलाई चुस्त र प्रभावकारी बनाउन कार्य सम्पादन करार उपलब्धीमूलक हुने विश्वास उनले व्यक्त गरे ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सिंह र नेपाल प्रहरी अस्पतालका निर्देशक प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) डा.आशा सिंहसहित अन्य एआईजीपी काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख रबिन्द्रबहादुर धानुक, केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख उत्तमराज सुवेदी तथा प्रहरी प्रधान कार्यालय अन्तर्गत प्रशासन विभागका प्रमुख अरूणकुमार बिसी, अपराध अनुसन्धान विभागका प्रमुख दिवेश लोहनी र मानवस्रोत विकास विभागका प्रमुख पूजा सिंहबीच कार्यसम्पादन सम्झौतामा प्रत्यक्ष हस्ताक्षर भएको थियो भने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एआईजीपी मुकुन्दराज आचार्य एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजीपीबीच भर्चुअल माध्यमबाट हस्ताक्षर भएको थियो ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद