Media Network

शंकास्पद ३ विदेशी कम्पनीका प्रतिनिधिलाई अख्तियारले बयानका लागि बोलायो


खबरस्टोरी संवाददाता

२२ मंसिर २०८०,शुक्रबार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रक्रियामा जोडिएका तीन विदेशी कम्पनीका सञ्चालकलाई बयानमा बोलाएको छ ।

नेपाल बायुसेवा निगमले वाइडबडी विमान खरिद गर्दा भएको भनिएको भ्रष्टाचार प्रकरणको अनुसन्धानका लागि अख्तियारले नेपाली मूलका बेलायती नागरिक दीपक शर्मा, जर्मन नागरिक क्रिश्चियन न्ह्युलेन र रोमानियाका नागरिक ओलेग कालिस्त्रुलाई १५ दिनभित्र उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको हो ।

बिहीबार द राइजिङ नेपाल दैनिकमा प्रकाशित सूचनामा भनिएको छ, ‘देहायका व्यक्ति पासपोर्ट र हालसालै खिचिएको फोटोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालयको कोटा नं। १०८ मा १५ दिनभित्र उपस्थित हुन यो सूचना प्रकाशित गरिएको छ ।’

निगमले ए–३३०–२०० विमान खरिद गर्दा भ्रष्टाचार भएको भन्ने उजुरीको छानबिनका सिलसिलामा उनीहरुलाई बोलाइएको अख्तियारले सूचनामा उल्लेख गरेको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४३ मा अनुसन्धानको दायरामा परेको व्यक्तिलाई सूचना पुर्‍याउन नसकेमा वा म्याद तामेल नभएमा सार्वजनिक सूचना निकाल्ने व्यवस्था छ ।अख्तियारले बोलाएकामध्ये दीपक शर्मा निगमलाई दुईवटा वाईडबडी विमान बेच्ने सम्झौता गरेको अमेरिकाको एएआर कर्पोरेसनका अध्यक्ष हुन् ।

सूचनामा उल्लिखित जर्मन नागरिक क्रिश्चियन न्ह्युलेन वाइडबडी विमान खरिद बिक्री प्रक्रियामा जोडिएको जर्मनीस्थित जर्मन एभिएसन क्यापिटल, यही नाममा सिंगापुरमा दर्ता भएको अर्को कम्पनी र निगमलाई वाइडबडी विमान बेच्न आयरल्याण्डमा खडा गरिएको हाई फ्लाई एक्सका निर्देशक हुन् ।

तेस्रो व्यक्ति ओलेग कालिस्त्रु जर्मन एभिएसन क्यापिटल नामक कम्पनीका वित्तीय निर्देशक हुन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद