Media Network

अमेरिकाको ग्रीनकार्ड त्यागेर गाउँको विकास गर्ने हुटहुटी


नारायण पंगेनी

२४ चैत्र २०७८,बिहीबार

काठमाडौं । तनहुँमा जन्मेका गोबिन्दराज जोशी २०२४ सालदेखि झण्डै १० वर्ष जिल्लाकै बिभिन्न विद्यालयमा पढाउँथे । त्यसपछि ०४६/०४७ को जनआन्दोलनपछि उनी कानून ब्यवसायमा संलग्न भएर काम गरे । कानून ब्यवसायमा संलग्न भएसँगै उनी कांग्रेसको सक्रिय राजनीतिमा लागे ।

कांग्रेसको सक्रिय राजनीतिमा लागेपछि उनलाई राजनीतिले साथ दिँदै गयो । वि. सं. २०४८ सालको आम निर्वाचनमा प्रतिनिधिसभा सदस्यको टिकट पाए । र, निर्वाचित पनि । 

जोशी पहिलो पटक सांसद मात्र भएनन्, पटक पटक मन्त्री हुने अवसर समेत पाए । पहिलो तीन वर्ष उनी शिक्षा समाजकल्याणमन्त्री भए । पहिलो तीन वर्ष समाज कल्याणमन्त्री भएका जोशीले आफ्नो गृह जिल्लामा समाजको कल्याण गरे । फलस्वरुप ०५१ सालको मध्यावधि निर्वाचन र २०५६ सालमा भएको आम निर्वाचनमा पनि उनी तनहुँबाट विजयी भए । 

जोशी समाज कल्याण, सामान्य प्रशासन, जलस्रोत, स्थानीय विकास मन्त्रीदेखि तीन तीन पटक गृहमन्त्रीसमेत भए । सार्वजनिक पदमा रहँदा अकुत सम्पति कमाएको मुद्दा परेपछि भने ०४८ सालदेखि ०५८ सालसम्म दश वर्ष लगातार मन्त्री बनेका जोशीको राजनीतिक जीवन धुमिलो हुन पुग्यो । विशेष अदालतले जोशीलाई भ्रष्टचारी ठहर गर्दै डेढ वर्ष कैद सजाय र २ करोड १६ लाख १४ हजार ३ सय ७६ रुपैयाँ १४ पैसा बिगो र बिगो बमोजिमको जरिवानाको फैसला नै सुनाएको थियो । 

यद्यपि २०६३ कात्तिक ३० मा विशेष अदालतका तत्कालीन अध्यक्ष भूपध्वज अधिकारी तथा सदस्यहरू कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर जबराको संयुक्त इजलाशले जोशीलाई सफाइ दिएको थियो । अदालतको सफाइकै कारण राजनीतिमा खुलेको ढोका आफूले टिकट नपाएकै कारण कांग्रेस नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवार बन्दा कांग्रेसले पुनः बन्द गरिदियो । उनी कांग्रेसको साधारण सदस्यबाटसमेत निकालिए । 

तनहुँ कांग्रेसका दुई प्रभावशाली नेता रामचन्द्र पौडेल र गोविन्दराज जोशीबीचको राजनीतिक दुश्मनीको गोलचक्करमा शंकर भण्डारी स्थपित भए । 

गुमनाम जोशीपुत्र जब अमेरिका भासिए

लामो राजनीतिक यात्रा र लाभको पदमा रहेका जोशीका छोरा दीपकराज जोशी भने राजनीतिमा गुमनाम छन् । तनहुँको ब्यास नगरपालिका २ दमौलीका जोशी  पुत्र दीपक भने लामो समय विदेशिए । 

फिलिपिन्स गई फरेष्ट्रीमा ब्याच्लर सकेर फर्किएपछि पनि दीपकले आफ्नो योग्यताअनुसारको जागिर पाएनन्, जतिबेला उनका बाबु गोबिन्दराज गृहमन्त्री थिए । उनी आफ्नै क्षमताले नेपाल सरकारको उच्च तहमा रहेर काम गर्ने अभिष्ट पूरा नभएपछि उनी अमेरिका हानिए । 

परिवारको चाहनाविपरित साथीभाइसँग सहयोग जुटाएर अमेरिका पुगेका उनी रोजगारीसँगै अध्ययनलाई पनि निरन्तरता दिए । प्रतिघण्टा ६ डलरबाट काम शुरु गरेका दीपक प्रतिघण्टा ८० डलरसम्म कमाउने भए भने म्यानेज्मेन्ट इन्फरमेशन सिस्टम (एमआईएस)मा मास्टर्स र एमबीए पनि अमेरिकामै पूरा गरे । 

अमेरिकामा राम्रो कमाइसँगै विलासितामा रमाइरहेका जोशी अमेरिकाको ग्रीनकार्डसमेत पाइसकेका थिए । ग्रीनकार्ड पाएपछि अमेरिका पुगेका नेपालीहरु भने आफूलाई सफल भएको ठान्छन् । र, अमेरिकी सिटिजनसिप बनाउनेतर्फ उन्मुख हुन्छन् । तर दीपकले त्यसो गरेनन्, दुई वर्षअघि स्वदेश फर्किँदै गर्दा उनले अमेरिकाको ग्रीनकार्ड नै त्यागिदिए । लामो समय अमेरिका रहेर अमेरिकामै जोडिएको घरजम पनि त्यागेर उनी नेपाल फर्किए ।

बाबुको बिरासत की युवाको ढुकढुकी ?

आफ्नै नामले चिनिन चाहने दीपकराज जोशीलाई स्थानीय ठाउँको विकास निर्माण गर्ने ठूलो हुटहुटी छ । त्यही हुटहुटीले गर्दा उनी आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा तनहुँको सदरमुकाम रहेको ब्यास नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिँदैछन् । 

‘मैले ठूलो सपना देखाउन खोजेको छैन,’ घरघरमा भोट माग्दै हिँडेका दीपकराजले टेलिफोनमा भने, ‘आफूमा भएको ज्ञान ब्यवहारमा उतार्छु ।’ चलयमान पूँजीमा विश्वास गर्ने उनको भनाइ छ । 

बुवाको इच्छा विपरित नै विदेश गएका उनी लामो समयपछि नेपाल पुनः नेपाल फर्किएर बाबुकै बाटोमा हिड्न चाहेका छन् । तर यसलाई उनले बाबुको राजनीतिक विरासत ठान्दैनन् । उनले आफू विरासतको राजनीतिमा विश्वास नगर्ने र बुवाले पनि विरासतको राजनीतिमा विश्वास नगर्ने बताउँछन् । 

राजनीतिमा नेविसंघदेखि नै राजनीतिक यात्रा थाले पनि कांग्रेसको क्रियाशील राजनीतिमा कहिँलै देखिएनन् । तर कांग्रेसलाई नै आफ्नो पार्टी ठाने पनि कांग्रेसले उनलाई नै टिकट दिन्छ भन्ने निश्चित छैन । कांग्रेसले टिकट नदिए पनि उनी पछि नहट्ने गरी निर्वाचनमा होमिएका छन् । 

ब्यास नगरपालिकाको विभिन्न ठाउँमा सम्पर्क कार्यालय स्थापना गरेर घरघर पुगिसकेका दीपकराजले निर्वाचनमै सहभागी नहुने भनेका पार्टीका युवाहरुले समेत साथ दिने आश्वासन पाएका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद