Media Network

चुनाव नजिकियो, जनप्रतिनिधिको ब्यस्तता बढ्यो


खबरस्टोरी संवाददाता

२७ चैत्र २०७८,आईतवार

काठमाडौं । उदयपुरको ताप्ली गाउँपालिकाले शनिवार ५० प्रतिशत अनुदानमा कृषकलाई हाते ट्याक्टर वितरण गर्यो । वार्षिक नीति तथा कार्यक्रम अनुसार स्थानीय किसानलाई व्यवसायिक कृषि खेतीतर्फ प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिएको अनुदान बाँड्न गाउँपालिका अध्यक्ष उद्धवसिंह थापा आफै पुगे । 

यहि चैत २१ गते नवलपरासीपूर्व कावासोती नगरपालिका १४ स्थित किसानहरुलाई पनि अनुदानका कृषि औजारहरु वितरण गरियो । ब्यवसायिक किसानहरुका लागि कृषि औजारहरु वितरण गर्न नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनिया पुगे । 

पालिकाको विकासकाबारेका कुरा गर्न एक साता अघि सम्पर्क गर्दा बाग्लुङको जैमुनी नगरपालिकाका उपमेयर लिला राना गाउँपालिकाकै कार्यक्रममा ब्यस्त देखिए । त्यसयता उनी दिउँसो टेलिफोनमा कुरा गर्न समेत फुर्सद छैन । जैमुनी नगरपालिकामा मेयरको उपस्थिति कमजोर हुँदा उपमेयर रानाले आफ्नो उपस्थिति बाक्लो बनाए । अबको स्थानीय तह निर्वाचनमा उनी नगरपालिकाको मेयरमा दाबी गरिरहेका छन् ।  

यो त प्रतिनिधि उदाहरण मात्र हो । अहिले देशैभरीका स्थानीय जनप्रतिनिधिहरुको निकै दौडधुप छ । सरकारले यहि वैशाख ३० गते देशैभरीका स्थानीय तहमा निर्वाचन गर्न लागेकाले आफूले गरेको कामको जसलिन जनप्रतिनिधिहरुको होडबाजी छ । 

स्थानीय तहहरुको वार्षिक नीति तथा कार्यक्रम अनुसार छुट्याइएका अनुदान लगायतका सहयोग सामग्रीहरु यसअघि नै वितरण गर्नुपर्ने थियो । तर, जनप्रतिनिधिहरुले जनतालाई राहत सामग्रीहरु वितरण गर्नेतर्फ ध्यानै दिएनन् । अहिले आफूले जनताको लागि काम गरेको देखाउनका लागि पनि जनप्रतिनिधिहरुको ब्यस्त भइरहेका छन् । 

निर्वाचनको मुखमा जनताको काम पनि हुने र निर्वाचनका लागि आधार पनि बलियो बनाउन सकिने भएकैले जनप्रतिनिधिहरु अनुदान लगायतका विभिन्न बाहनाबाजी बनाएर जनताको घरघर पुगिरहेका छन् । ‘यतिका समय पदमा हुँदा समस्या बुझ्नेसमेत समय नभएका ठालु जनप्रतिनिधिहरु अहिले जनमैत्री बन्दै गाउँगाउँ पुगेको देख्दा बडो रमाइलो लागिरहेको छ ।’–चितवनका इच्छाकामना गाउँपालिका रणबहादुर गुरुङ भन्छन् ।  

देशैका अधिकांश स्थानीय तहको कम प्राथमिकतामा कृषि क्षेत्र पर्यो । कृषिलाई आएको रकमसमेत बाटो घाटो, टावर निर्माण जस्ता क्षेत्रमा लगाउन जनप्रतिनिधिहरुले जोड दिए । अब निर्वाचनअघि राताराता भौतिक पूर्वाधारको काम सम्भव नहुने भएपछि कृषि उपकरणहरु धमाधम बाँड्दै उनीहरु जनताको घरघरमा पुगिरहेका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद