Media Network

ज्योतिषलाई देखाएर निर्वाचन मिति घोषणा गरिँदै


खबरस्टोरी संवाददाता

२२ असार २०७९,बुधबार

काठमाडौं । निर्वाचन आयोगले ज्योतिषसँगको साइत हेरेर प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति बुधबार सिफारिस गर्न लागेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ३० कात्तिक तथा २ र ५ मंसिर गरी तीनवटा मिति प्रस्ताव गर्ने तयारी आयोगले गरेको हो । 

आयोगले बुधबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचनको मिति प्रस्ताव गर्नेछ । बुधबार प्रधानमन्त्रीसँग भेट गर्ने र निर्वाचन मितिबारेमा छलफल गर्ने तयारी आयोगले गरेको छ । 

आयोगले यसअघि ३० कात्तिकको मिति प्रस्ताव गर्ने तयारी गरेको थियो । तर, आयोगका उच्च तहका पदाधिकारीनिकट ज्योतिषले सो मिति उपयुक्त नहुने बताएपछि आयोगले २ र ५ मंसिरको मितिसमेत विकल्पमा राखेर सिफारिस गर्ने तयारी गरेको हो । 

प्रधानमन्त्री देउवा पनि ज्योतिषप्रति विश्वास गर्छन् । उनले प्रधानमन्त्रीको पदभार ग्रहणदेखि हरेक काम ज्योतिष देखाएर साइत हेरेर मात्रै गर्ने गरेका छन् । प्रधानमन्त्री देउवाले पनि साइत हेरेर मात्रै स्वीकार गर्ने भएकाले आयोगले पनि साइत जुराएर मिति सिफारिस गर्न लागेको हो । 

निर्वाचन आयोगको परामर्शमा निर्वाचनको मिति भने सरकारले नै घोाषणा गर्ने प्रावधान छ । 

यसअघि गठबन्धन दलका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि कात्तिक अन्तिम अथवा मंसिरको पहिलो हप्ता निर्वाचन गर्ने गरी छलफल भइरहेको बताएका थिए । 

आयोगले देशभरका १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३ सय ३० वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा एकै दिन एकै चरणमा निर्वाचन गर्नेगरी छलफल चलाएको थियो । 

निर्वाचन आयोगले अहिले देशभर मतदाता नामावली संकलनको काम जारी राखेको छ । निर्वाचनको मिति घोषणा भएपछि नामावली संकलन कार्य स्वतः रोकिने भएकाले मिति घोषणा हुनुअघिसम्म नाम दर्ता गर्न सकिन्छ । 

७७ जिल्लाका निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७३ इलाका प्रशासन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ताको काम जारी रहेको आयोगले जनाएको छ । 

यसअघि २०७४ को निर्वाचनमा मंसिर १० र मंसिर २१ मंसिर गरी दुई चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको थियो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद