Media Network

कोशी प्रदेश : प्रदेशसभाको बैठक सुरु , मुख्यमन्त्रीले विश्वासको मत लिने


खबरस्टोरी संवाददाता

१५ असार २०८०,शुक्रबार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने भएपछि प्रदेशसभाको बैठक सुरु भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हिजो विश्वासको मत लिने तयारी गरे पनि अन्तिममा बैठक स्थगित भएको थियो ।

आजको बैठकमा मुख्यमन्त्री  कार्कीले विश्वासको मतको प्रस्तावमा दलहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम छ । त्यसपछि मत विभाजन हुने कार्यसूची छ ।

मुख्यमन्त्री कार्की हिजो प्रदेशसभाबाट बाहिरिएपछि ३० मिनेटका लागि स्थगित भएको बैठक पुनः सुचारु नभई राती सूचना टाँस गरेर स्थगित गरिएको थियो ।  बैठक आज ११ः०० बजेका लागि बोलाइएको भए पनि १ घण्टा ढिलो सुरु भएको हो ।

सरकारलाई समर्थन दिएको नेकपा माओवादी केन्द्र र जसपाले समर्थन फिर्ता लिए पछि सङ्कटमा परेका मुख्यमन्त्रीले आज विश्वासको मत लिन लागेका हुन्  । 

कोशी प्रदेश सभामा नेकपा एमाले सबैभन्दा ठुलो दल रहेको छ । एमाले नेतृत्वको एक मात्र प्रदेश सरकारमाथि विश्वासको सङ्कट उत्पन्न भए पछि मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिन बाध्य भएका हुन् । मुख्यमन्त्री कार्कीलाई एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत दिने जनाइसकेको छ ।  राप्रपा र एमाले मिल्दा ४६ जना सांसदको समर्थन रहने देखिएको छ ।  कोशी प्रदेश सभामा सरकार बनाउन वा विश्वासको मत प्राप्त गर्न ४७ जना सांसद आवश्यक पर्छ ।

जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएमा कोशी सरकार यथावत् रहने भए पनि सो पार्टीले तटस्थ बस्ने जनाएपछि मुख्यमन्त्री कार्की अप्ठ्यारोमा परेका छन् । जसपा नेपालको एक मत रहेको छ ।

हाल कोशी प्रदेश सभामा एमालेको ४०, नेपाली काँग्रेसको २९, नेकपा माओवादीको (सभामुख सहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसदले प्रतिनिधित्व गरिरहेका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद