Media Network

लिङदेन भन्छन्– भोट दिने कुरा त छोरी दिने भन्दा पनि ठूलो कुरा हो


खबरस्टोरी संवाददाता

२५ चैत्र २०७८,शुक्रबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले भोट दिने कुरा आफ्नो छोरी विहे गरेर दिने भन्दा पनि ठूलो कुरा भएको बताएका छन् । 

आफ्नो छोरी दिँदा हजार पटक सोच्ने गरिन्छ, त्यसरी नै भोट दिँदा त्यो भन्दा बढी सोच्नुपर्ने बताए । ‘हजार पटक सोंचेर बुझेर छोरी दिँदा पनि ज्वाईँ लफङ्गो परिदिन्छ’, लिङदेनले भने, ‘त्यसैले कुन पार्टी कस्तो छ, जानेर बुझेर मात्रै भोट दिनु होला ।’ 

नेपाली नागरिकहरु पूर्व जन्ममा पाप गरेर दुःख नपाएको तर अघिल्लो चुनावमा गलत मान्छेलाई चुनावमा जिताउँदा दुःख पाएको उनको भनाइ थियो ।  

दोष पार्टी नेताहरु, भाग्यको मात्र नभई दोष हातको पनि भएको भन्दै उनले विगतमा गरेको गल्ती सच्याउन अपिल गरे । 

गरिब युवाहरु भोटकाबेला बरालिन्छन् 

राप्रपा अध्यक्ष लिङदेनले गरिब युवाहरु चुनावकाबेला बरालिने गरेको पनि आरोप लगाएका छन् । चुनाव गरिबलाई नै चाहिने, नेता, पार्टी पनि गरिबलाई नै चाहिने तर गरिब युवा भोटका बेला बिग्रिने गरेको उनले आरोप लगाए । 

‘चुनाव त्यही गरिबलाई चाहिन्छ, नेता पार्टी त्यही गरिब युवालाई चाहिन्छ । तर त्यही गरिब भोटकाबेला बिग्रिन्छ ।’– लिङदेनले भने । 

हामीले हरेक पटक भोटमा ख्यालख्याल गरेको भन्दै उनले यसपाली सचेत हुन पटक पटक आग्रह गरे । 

दास मानसिकतामा ठूला दलका नेता 

राप्रपा अध्यक्ष लिङदेनले ठूला राजनीतिक दलहरु दास मानसिकतामा रहेको बताए । उनले मागेरै देश चलाउनुपर्छ भन्ने विचार बोकेको नेताहरुले देशलाई परनिर्भर बनाएको आरोप लगाए । 

नेपालबाट भारत र बंगलादेशलाई विजुली बेच्न भन्दै एमसीसीमार्फत झण्डै ६० अर्ब ल्याउने निर्णय गर्नु गलत भएको उनको भनाईं थियो । नेपालमै विजुली बाल्न नपाएर अध्याँरोमा बस्नुपर्ने अवस्था कायम रहेकाबेला बाहिर देशमा विजुली बेच्ने कुरा हाँस्यास्पद भएको उनको भनाइ छ । 

राप्रपा अध्यक्ष लिङदेनले नेपालमा उत्पादन भएको विजुली बाहिर बेच्न नभई नेपालमै उपयोग गर्ने वातावरण बनाउन आग्रह गरे । नेपालमा बढी भएको विजुली बेच्न तयारी हुने बेलामा भारतले आफै वैकल्पिक ऊर्जा बनाएर नेपालको विजुली आवश्यक नभएको भन्ने अवस्था नआउला भन्न नसकिने उनको तर्क थियो । 

नेपालीको चुल्होमा महंगो ग्यास होइन, सस्तो विजुली दिएर आकर्षित गर्नुपर्नेदेखि नेपालमा रोजगारी सिर्जना गर्ने उद्योगहरु खोल्न संसारभरका लगानीकर्तालाई आकर्षित गर्ने कार्यक्रम ल्याउन पनि लिङदेनले आग्रह गरे । संसारकै सस्तो दरमा विजुली दिन्छौं भनेर आह्वान गर्ने हो भने दशौं हजारले नेपालमै रोजगारी पाउने र प्रदुषणमुक्त उद्योग सञ्चालन हुने उनको दाबी छ । 

नेपालमा उद्योग खोल्न एनआरएनहरु नै आउने पनि विश्वास लिए । पछि भारतलाई विजुली चाहिने भए आफै तार टाँगेर लैजान भन्ने किन नसक्ने ? लिङदेनको प्रश्न थियो । 

विदेशीको सहयोग बिना टिक्न सकिदैन भन्ने नेपालका नेताहरुको दास मानसिकताको कारण विकल्प खोज्न जरुरी भइसकेको लिङदेनले बताए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद