Media Network

मतदाता नामावलीमा नाम दर्ता आजबाट खुला


खबरस्टोरी संवाददाता

१ असार २०७९,बुधबार

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता खुला गरेको छ । आयोगले बुधबार (आज)बाट मतदाता नामावलीमा नाम दर्ता खुला गरेको हो ।

सबै निर्वाचन कार्यालय र सबै जिल्ला प्रशासन कार्यालय तथा ७३ वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

यसैगरी, आफ्नो स्थायी ठेगाना रहेको जिल्लाबाहिर बसोवास रहेकाले समेत बसोबास रहेकै जिल्लाको निर्वाचन कार्यालय पुगेर नाम दर्ता गर्न सक्नेछन् ।

पेशा, व्यवसाय वा अन्य कुनै कारणले कुनै एक जिल्लामा बसोवास गरिरहेका नागरिकले स्थायी ठेगानामा रहने गरी हाल अस्थायी बसोबास गरिरहेको जिल्लाकै निर्वाचन कार्यालय गई मतदाता नामावली दर्ता गर्न सक्ने उनले बताए ।

मतदाता नामावलीमा रहेको आफ्नो नाम, ठेगाना, जन्म मिति, लगायतका विवरण सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा नाम दर्ता अधिकारी (निर्वाचन अधिकारी) ले आवश्यक निर्णय गरी त्रुटि सच्याउने समेत उनले जनाए ।

प्रवक्ता पौडेलका अनुसार कुनै मतदाताले विवाह वा बसाई सरेको कारण मतदाता नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा साविकमा नाम दर्ता भएको जिल्ला वा नाम सार्न चाहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सक्नेछ ।

कुनै मतदाताले आफ्नो नाम रहेको मतदानस्थलवाट पायक पर्ने सोही वडाको अर्को मतदानस्थलमा नाम सार्न निवेदन दिएमा सोही बमोजिम स्थानान्तरण गरिदिने पनि उनले जानकारी दिए।

आयोगले १६ वर्ष उमेर पूरा भएका नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गर्न योग्य मान्दै आएको छ भने मतदानका लागि तोकिएको मितिमा १८ वर्ष उमेर पुगेको हुनुपर्नेछ ।

यसैगरी, पहिले दर्ता कायम भएका तर नामावलीमा त्रुटि भएकाले स्थायी ठेगाना भएका जिल्ला निर्वाचन कार्यालय गएर सच्याउन सक्नेछन् । त्यसका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालय नै जानुपर्नेछ । अथवा आयोगले इमेलमार्फत् पनि त्रुटि सच्याउन सकिने व्यवस्था गरेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद