Media Network

सत्ता गठबन्धनः प्रदेशमा एक, स्थानीयमा आफूखुसी


खबरस्टोरी संवाददाता

२५ चैत्र २०७८,शुक्रबार

बुटवल । नेपाली कांग्रेससहितको पाँच दलीय सत्ता गठबन्धन चुवावमा पनि मिलेर अघि बढिरहँदा बुधबार लुम्बिनीको बैठकमा गठबन्धन भित्रको एक दल नेकपा (एकीकृत समाजवादी) छुट्यो । 

बुधबार चार दल मिलेर सिट बाँडफाँड गरेपछि माधव नेपाल नेतृत्वको समाजवादी रुष्ट बन्यो । गठबन्धन भाँडिने अवस्था बनेपछि विहीबार फेरि अर्को बैठक बस्यो । विहीबारको बैठक एकीकृत समाजवादी पनि जुट्यो । 

पाँचै दलको बैठक पुनः बसेपछि लुम्बिनी प्रदेशमा सत्तारूढ पाँचै दलको गठबन्धन तालमेल गरेर स्थानीय चुनावमा सहभागी हुने अर्को सहमति बन्यो । 

यसअघि एकीकृत समाजवादीका प्रतिनिधिविनै गठबन्धनका दलहरूको बैठक बसे पनि बिहीबार बसेको गठबन्धन बैठकले पाँचदलीय गठबन्धनलाई चुनावसम्म लैजाने र चुनावी तालमेललाई व्यवहारिक रूपमा कार्यान्वयन गर्ने निर्णय गरे । 

गठबन्धन नमिलेको सन्देश जाने डरले उनीहरुले अर्को विज्ञप्ति निकाले । वैशाख ३० मा हुने स्थानीय चुनावमा लुम्बिनीमा गठबन्धन बलियो तथा बजबुत बनाउनको लागि नियमित बैठक बस्ने, मत विश्लेषण गर्ने र निर्वाचन योजना निर्माण गर्ने निर्णय गरिएको भन्दै विज्ञप्ति जारी भयो । 

बैठकमा उनीहरुले लुम्बिनीका एक सय ९ स्थानीय तहमा गठबन्धनको धरातलीय अवस्था पठाउन सम्बन्धित जिल्लाहरूलाई आग्रह गर्ने निर्णय पनि गरेका छन् । सबै पार्टी प्रदेश स्तरका नेताहरुको उक्त बैठकले लुम्बिनीका सबै जिल्लामा गठबन्धनको बैठक बस्न पनि निर्देशन दिने पनि निर्णय गर्यो ।  

बैठकमा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन मगर, नेकपा माओवादी केन्द्रका लुम्बिनी अध्यक्ष सुदर्शन बराल, नेकपा एकीकृत समाजवादीका लुम्बिनी अध्यक्ष मेटमणी चौधरी, जसपाका अध्यक्ष अशोककुमार यादव र राष्ट्रिय जनमोर्चा नेपालका उपाध्यक्ष बद्री आलम उपस्थित थिए ।

प्रदेश तहमा सहमति जुटे पनि स्थानीय तहमा भने सबै ठाउँमा सहमति जुट्ने सम्भावना न्यून छ । कतिपय स्थानीय ठाउँमा पाँचै दलको कार्यकर्ता नै छैनन् । त्यसैले सबै जिल्लामा पाँचै दल अटाउने सम्भावना छैन । कतिपय जिल्लामा कांग्रेस र माओवादी केन्द्रले मात्रै सिट बाँडेका छन् । 

गुल्मीका १२ वटा पालिकामा कांग्रेसले ८ र माओवादीले ४ सिट बाँडिसक्दा अन्य दलहरुले पत्तै पाएनन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद