Media Network

प्रदेशसभा सचिवालयले मुख्यमन्त्री पदमुक्त भएको पत्र प्रदेश प्रमुखको कार्यालयलाई पठायो


खबरस्टोरी संवाददाता

१५ असार २०८०,शुक्रबार

विराटनगर। कोशी प्रदेशको प्रदेशसभा सचिवालयले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएको पत्र प्रदेश प्रमुखको  कार्यालय पठाएको छ। शुक्रबारको प्रदेशसभा बैठकपछि सचिवालयले प्रदेश प्रमुखको कार्यालयलाई मुख्यमन्त्रीले विश्वास गुमाएको पत्र पठाएको हो ।

शुक्रबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत माग्दा  ४६ मत मात्रै पाए । ९३ सदस्यीय  प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।

शुक्रबार मुख्यमन्त्रीको प्रस्तावपछि मत विभाजन हुँदा उनको पक्षमा ४६ र विपक्षमा  ४३ मत प¥यो।  जसपा सांसद  निर्मला लिम्बू र प्रतिपक्षी दलका दुई सांसद अनुपस्थीत रहे ।

मुख्यमन्त्रीले प्रदेशसभाको विश्वासको मत नपाएको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइएको प्रदेशसभा सचिवालयका प्रवक्ता गौतमराज अमात्यले जानकारी दिए।

प्रदेश प्रमुखको कार्यालयका  प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले प्रदेशसभा सचिवालयको पत्र आइसकेको बताए । पत्र आएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले परामर्श गरिरहेको उनले बताए।

Share:
Reaction :
ताजा समाचार
खेलकुद