Media Network

वाणिज्य बैंकहरुको जोखिम व्यवस्थापनका लागि छुट्टाएको रकम १२० प्रतिशतले बढ्यो


खबरस्टोरी संवाददाता

५ श्रावण २०८०,शुक्रबार

काठमाडौँ। वाणिज्य बैंकहरुले जोखिम व्यवस्थापन (लोन लस प्रोभिजन) को लागि छुट्टाएको रकम १२० प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्ष (आ.व.२०७८/७९) आर्थिक वर्षको जेठ महिनासम्म कायम २७ वटा वाणिज्य बैंकहरुले कुल २० अर्ब ५३ करोड २५ लाख रुपैयाँ रकम लोन लस प्रोभिजनबापत छुट्टाएका थिए। यस्तो रकम गत आर्थिक वर्ष(आ.व.२०७९/८०) मा बढेर अहिले ४५ अर्ब १६ करोड ६१ लाख पुगेको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ११९.९७ प्रतिशतले बढी हो। गत जेठ महिनासम्म वाणिज्य बैंकहरु २१ वटा कायम थिए।

कुमारी बैंकको सबैभन्दा बढी

समिक्षा अवधिकमा सबैभन्दा बढी रकम प्राभिजन गर्नेमा कुमारी बैंक रहेको छ। वाणिज्य बैंकहरुले प्राभिजन गरेको कुल रकमको १४ प्रतिशत भन्दा बढी यो बैंक एक्लैले गरेको छ।

बैंकले ६ अर्ब ५७ करोड ५० लाख रुपैयाँ प्राभिजन गरेको छ। जुन, वाणिज्य बैंकहरुले प्राभिजन गरेको रकमको १४.५६ प्रतिशत हो।

दोस्रोमा कृषि विकास बैंकले ३ अर्ब ३० करोड ४७ लाख र तेस्रोमा प्रभु बैंकले २ अर्ब ६८ करोड ३६ लाख रुपैँया प्राभिजन गरेको छ।

गत आर्थिक वर्षको सुरुदेखि नै प्रोभिजन रकम बढ्दो ग्राफमा थियो। आर्थिक गतिविधिमा आएको संकुचन राष्ट्र बैंकले सुपरिवेक्षणमा पनि कडाई गरेको थियो। साथै व्यावसायीहरु ब्याजदर वृद्धिको विरुद्धमा आन्दोलनमा उत्रिएका थिए, आर्थिक मन्दीले समयमा तिर्नु सक्ने अवस्थामा पनि कमी आएको थियो। जसले गर्दा पनि कर्जा असुलिमा बैंकहरुलाई समस्या देखिएको थियो।

यता, राष्ट्र बैंकले पनि अघिल्लो बर्ष कर्जाको भाका नाघेको ६ महिनासम्म कारबाहिको प्रक्रिया अगाडी नबढाउन निर्देशन दिएको थियो। यसले गर्दा बैंकहरुले पहिला ३ महिनापछि कारबाहि पक्रिया अगाडी बढाउँदै आएकोमा अहिले ६ महिना कुर्नुपर्ने भयो। यो बीचको तीन महिना कर्जाको २५ प्रतिशत प्रोभिजन गर्नुपर्ने यथावत व्यवस्था रह्यो। राष्ट्र बैंकले सुरुदेखि नै सुक्ष्म निगरानिमा रहेको कर्जामा ५ प्रतिशत प्रोभिजन गर्नुपर्ने विषयलाई समेत कडाई गर्दै आएको छ। जसले गर्दा प्रोभिजन रकम बढी भएको हो।

Share:
Reaction :
ताजा समाचार
खेलकुद