Media Network

प्रधानमन्त्री देउवालाई रुसविरुद्धसँगै लड्न अमेरिकी विदेशमन्त्रीको आग्रह


खबरस्टोरी संवाददाता

१८ फाल्गुन २०७८,बुधबार

काठमाडौं । युक्रेनमाथि रुसी आक्रमण जारी रहेका बेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोन संवाद गरी रुस विरुद्ध आवाज उठाउन आग्रह गरेका छन् ।

नेपालको संसदबाट एमसीसी पारित गरेको दुई दिनपछि अमेरिकी विदेश मन्त्रीले प्रधानमन्त्री देउवासँग कुरा गरेका हुन् ।

रूसले युक्रेनमाथि गरेको आक्रमण र युक्रेनको सार्वभौम सत्ता, भौगोलिक अखण्डताबारे आफूहरूबीच कुराकानी भएको अमेरिकी विदेशमन्त्री एन्टोनीले ट्वीटरमा उल्लेख गरेका छन् । उनीहरूबीच मंगलबार साँझ कुराकानी भएको हो ।

ब्लिनकनले भनेका छन्– रुसले युक्रेनमा गरेको सैन्य आक्रमण र दुई देशले युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा गरेको समर्थनबारे छलफल भएको छ । हामी आर्थिक विकास र क्षेत्रीय चुनौतीको सामना गर्न मिलेर काम काम गर्नेछौं ।’

उक्त संवादका क्रममा युक्रेनमाथि रुसको आक्रमणलाई सँगै विरोध गर्नुको साथै आर्थिक विकास र क्षेत्रीय चुनौतीहरूमा मिलेर अघि बढ्ने प्रतिबद्धता गरिएको छ ।

विदेश मन्त्री ब्लिन्केनले रुसको अप्रत्याशित आक्रमण र युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताप्रतिको अमेरिकाको समर्थनबारे नेपालका प्रधानमन्त्री देउवासँग कुराकानी भएको आफ्नो ट्विटरमा उल्लेख गरेका छन् । साथै, विदेश मन्त्री ब्लिन्केनले दुई जनाबीचको संवादमा आर्थिक विकास र क्षेत्रीय चुनौतीहरूमा सँगै मिलेर काम गर्न जारी राख्ने विषयमा छलफल भएको पनि प्रस्ट पारेका छन् ।

प्रधानमन्त्रीका प्रेस चिफ गोबिन्द परियारका अनुसार दुई जनाबीचको संवादमा अमेरिकाले नेपालको आर्थिक विकासमा विगत लामो समयदेखि निरन्तर गर्दै आइरहेको सहयोगलाई लिएर प्रधानमन्त्री देउवाले विदेशमन्त्री ब्लिन्केनलाई धन्यवाद दिएका थिए ।

नेपालले संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदमा युक्रेनको पक्षमा मतदान गरेको थियो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद