Media Network

युक्रेन हमलाबारे क्वाड बैठकमा छलफल, भारत तटस्थ


खबरस्टोरी संवाददाता

२० फाल्गुन २०७८,शुक्रबार

काठमाडौं । युक्रेन हमलाबारेमा चार देश सम्मिलित क्वाड बैठक बसेको छ । अमेरिका, भारत, जापान र अष्ट्रेलिया सम्मिलित क्वाड बैठकमा पनि युक्रेन–रुस युद्धमा भारत तटस्थ उभिएको छ । 

युक्रेन–रुसबीच युद्ध जारी रहेकाबेला चार देशीय सुरक्षा संवाद अर्थात् क्वाड लिडरहरूको बैठक बसेको हो । क्वाडमा सम्मिलित अमेरिका, जापान र अष्ट्रेलियाले रुसको निन्दा गरिरहे पनि भारत तटस्थ रहेको छ । जसका कारण भारतले रुसको पक्षमा मौन समर्थन गरेको छ । 

दुई दिनअघि संयुक्त राष्ट्र संघमा भएको रुस विरुद्ध निन्दा गरिएको प्रस्तावमा पनि भारतले मत बहिष्कार गरेको थियो । रुसले युक्रेनमाथि हमला गरेको भन्दै राष्ट्रसंघमा अधिकांश देशले रुसको निन्दा गरिरहँदा भारत मौन रहेपछि क्वाडमा भारतको भूमिकालाई लिएर प्रश्न उठिरहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

विहीबारको बैठकमा भारतबाट प्रधानमन्त्री नरेन्द्र मोदी र जापानका फुमियो किशिदा, अमेरिका अमेरिकी राष्ट्रपति जो बाइडेन, अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन सहभागी थिए । 

उक्त भेटपछि चार नेताहरुको संयुक्त विज्ञप्ति जारी गरिएको ह्वाइट हाउसको वेबसाइटमा उल्लेख छ । 

‘स्वतन्त्र र खुला इन्डो–प्यासिफिक महासागर, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्न प्रतिबद्ध छन्,’ –संयुक्त विज्ञप्तिमा भनिएको छ । सबैले क्षेत्रीय स्थायित्व र समृद्धिका लागि मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

क्वाड नेताहरूले युक्रेनमा चलिरहेको द्वन्द्व र मानवीय संकटको बारेमा पनि छलफल गरेका छन् । उनीहरु मानवीय सहायता र विपद् राहतका लागि नयाँ मेसिनरी तयार गर्न सहमत भएका छन् । 

साथै युक्रेन संकटका सम्बन्धमा पनि एकअर्कालाई सहयोग गर्ने सहमति भएको छ । क्वाड नेताहरू आगामी महिनाहरूमा टोकियोमा स्वतन्त्र र खुला इन्डो–प्यासिफिकमा छलफल गर्न सहमत भएका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद