Media Network

आज राति भूतप उल्का वर्षा हुँदै, नाङ्गो आँखाले पनि हेर्न सकिने


खबरस्टोरी संवाददाता

१९ पुष २०८०,बिहीबार

काठमाडौं । आज राति अत्यधिक मात्रामा उल्का वर्षा हुँदैछ । यो सन् २०२४ को पहिलो उल्का वर्षा हो ।उल्का वर्षाको स्रोत बुटिज (भूतप) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकोले यसलाई भूतप उल्का वर्षा नाम दिइएको नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो)ले जनाएको छ ।

भूतप उल्का वर्षा स्थानीय समयअनुसार आज दिउँसोदेखि अत्यधिक मात्रामा सक्रिय हुनेछ । तर, आँखाले भने बिहीबार राति ११ः३० बजेदेखि शुक्रबार सूर्योदयभन्दा अगाडिसम्म हेर्न सकिनेछ । 

उल्का वर्षा हुने समयमा नाङ्गो आँखाले नै आकाशमा हेरेर अवलोकनकर्ताहरुले मनोरञ्जन लिन सक्ने नासोले बताएको छ ।अत्याधिक उल्का वर्षाको समयमा प्रतिघण्टा ५० देखि १२० वटा सम्म उल्का वर्षा हुने अनुमान गरिएको छ ।नासोका अनुसार ती आगोका झिल्का जस्तै मध्यम गतिका उल्का वर्षा करिब ७० कि।मि माथि वायुमण्डलमा देखिनेछन् ।

पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कण र चट्टानहरू पृथ्वीको वायुमण्डलमा तीब्र गतिले ठोक्किएर जल्छन् । यसैलाई उल्का वर्षा भनिन्छ । उल्का वर्षालाई नेपाली जनजिब्रोमा तारा खसेको भनिन्छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद