सोह्रश्राद्धको अन्तिम दिन आज तिथि मिति थाहा नभएका र अन्य कारणले श्राद्ध रोकिएका सबै मृतकहरूको सम्झनामा श्राद्ध गरिने हुँदा यस दिनलाई सोह्रश्राद्धको सबैभन्दा महत्त्वपूर्ण दिन मानिन्छ । आजको दिन पशुपति, वराहक्षेत्र, जनकपुर, मुक्तिनाथ, दामोदर कुण्ड, रिँढी, देवघाट लगायत देशका अन्य पितृ धर्मस्थलहरूमा गएर श्राद्ध गर्ने चलन छ ।
चाड पर्व, यज्ञ तथा ठूला कार्य गर्नुभन्दा पहिले पितृको श्रद्धासाथ सम्झना गर्ने वैदिक परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिन्छ । पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष घटस्थापनाको शुभ साइत भोलि (असोज १० गते) बिहान १०।२३ बजे रहेको छ ।