Media Network

“ब्ल्याक बक्स” जसबाट पत्ता लाग्छ विमान दुर्घटनाको कारण


खबरस्टोरी संवाददाता

२ माघ २०७९,सोमबार

पोखरा । आईतबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लाग्दा सेतीको खोँचमा खसेको यती एअरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न सरकारले जाँचबुझ समिति गठन गरेको छ ।

विमानमा सवार ७२ जना यात्रुहरुमध्ये हालसम्म ६९ जनाको शव भेटिईसकेको छ भने थप ३ जनाको शव खोजी कार्य जारी रहेको छ । सगँसगै उक्त विमानको ब्ल्याक बक्सको पनि खोजी सुरु भएको छ ।।

दुर्घटनामा हराइरहेका मानिसको खोजीमा आइतवार अबेरसम्म जुटेका उद्धारकर्मीहरू सोमवारबाट विमानको ब्ल्याक बक्सको खोजीमा पनि जुटेका छन्। विमानको पछिल्लो भागमा हुने यो उपकरणबाट विमान दुर्घटनाको कारण पत्ता लाग्ने बताईन्छ ।

‘कुन उपकरणको कस्तो अवस्था थियो भन्नेचाहिँ त्यो ब्ल्याक बक्सले बताउँछ। कुन भागको सङ्केत के थियो। अचानक आएको समस्या हो कि। बाहिरी वा आन्तरिक कारणले भएको हो भन्ने बताउँछ’ ।

यो जहाजमा हुने ब्ल्याक बक्समा फ्लाइट डेटा रेकर्डर र ककपिट भोइस रेकर्ड दुवै हुने भएकाले अनुसन्धानमा निकै महत्वपूर्ण मानिन्छ ।  

के हो ब्ल्याक बक्स ?

ब्ल्याक बक्स विमानको पछिल्लो भागमा रहने विद्युतीय उपकरण हो।

 विमान दुर्घटनाका घटनामा यो उपकरण निकै महत्वपूर्ण हुन्छ। ब्ल्याक बक्स वास्तवमा कालो रङ्गको चाहिँ हुँदैन। यस्तो उपकरण गाढा सुन्तला रङ्गको हुन्छ। विमान दुर्घटना भएको ठाउँमा भेट्न सहज होस् भनेर यस्तो रङ्गमा ब्ल्याक बक्स बनाइएको हुन्छ।‘दुर्घटना हुँदा कम क्षति हुने भाग भएकाले यसलाई विमानको पछिल्लो भागमा राखिएको हुन्छ । प्रायः ब्ल्याक बक्समा दुईवटा भाग हुन्छन्। तर सबै विमानमा यी दुवै भाग नहुन पनि सक्छन्।

– फ्लाइट डेटा रेकर्डर र

– ककपिट भोइस रेकर्डर

उच्च तापक्रम र पानीमुनिको गहिरो सतहमा पनि यसभित्रका डेटा नष्ट नहुनेगरी ब्ल्याक बक्सको निर्माण गरिएको हुन्छ।

फ्लाइट डेटा रेकर्डरले प्राविधिक पक्षको रेकर्ड राख्छ। त्यसमा विमानका हरेक उपकरणको अवस्था, उचाइ, दिशा, तापक्रम, गति, इन्धनको मात्रा, अटो–पाइलटको अवस्था लगायतका विवरणहरूको अभिलेख रहन्छ।‘कुनै उपकरणले काम गरिरहेको थिएन भने त्यो कुरा यसमा नोट हुन्छ र त्यसबाट विमानको प्राविधिक पक्षको विश्लेषण गर्ने हो’ सुमनले भने। तर कतिपय साना र ट्विनअटर विमानमा यो हुँदैन। यसअघि मुस्ताङमा दुर्घटनामा परेको तारा एअरको ट्विनअटर विमानमा यस्तो उपकरण थिएन।


ककपिट भोइस  रेकर्डर सामान्यतया २५ घण्टाको रेकर्डिङ अवधि हुन्छ। यो उपकरणमा चार वटा च्यानल हुन्छन् र चार स्थानका आवाजको रेकर्ड राखेको हुन्छ।  यसमा पाइलटको, कटपिटको, टावरसँग हुने सञ्चारको र प्यासेन्जर अनाउन्सेन्टको रेकर्ड हुने सुमन बताउँछन्। दुर्घटना अनुसन्धानको क्रममा यस्तो उपकरणमा सग्रह भएको आवाज नै अनुसन्धानकर्ताहरूले सुनेर विश्लेषण गर्छन्।

‘पाइलटले के बोल्यो, के सुन्यो, केही खराबी थियो भने को–पाइलटलाई जानकारी दियो कि दिएन, यात्रु र टावरलाई दियो कि दिएन त्यो कुराहरूको आवाज सुनेपछि धेरै थाहा हुन्छ’ ।

पछिल्लो समय नेपालमै ब्ल्याक बक्सको विश्लेषण हुने भए पनि फ्लाइट डेटा रेकर्डरको कतिपय अध्ययनका लागि विदेशी विशेषज्ञहरूको पनि सहयोग लिने गरिन्छ ।

यो सामग्री बीबीसी नेपालीबाट साभार गरिएको हो।


Share:
Reaction :
ताजा समाचार
खेलकुद