Media Network

एक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउने


खबरस्टोरी संवाददाता

६ चैत्र २०७९,सोमबार

काठमाडौं।खानेपानी तथा सरसफाई क्षेत्रमा विद्यमान सबै मुद्दाहरुलाई समेटेर एक महिनाभित्रै सरकारले नयाँ नीति ल्याउने भएको छ ।

आजदेखि राजधानीमा आयोजित “बर्षातको पानी संकलनः खानेपानी सुरक्षण  र जलवायु परिवर्तनका असरहरुको संबोधन“ विषय दुई दिवसीय राष्ट्रिय सम्मेलनको समुद्घाटन मन्तव्यमा खानेपानी मन्त्रालयका सचिव ई. मणिराम गेलालले यसको जानकारी दिएका हुन । 

खानेपानी र सरसफाईका क्षेत्रमा विद्यमान सबै विषयहरुलाई समेटेर एक महिनाभित्र नयाँ नीति आउने छ, सचिव गेलालले भने, यसमा जलवायु परिवर्तन, बर्षातको पानी संकलन, भूमिगत पानीको उपयोग र सरसफाईका हाल देखिएका सबै समस्याहरुलाई संबोधन गरिने छ । उनले सै बर्ष खानेपानी तथा सरसफाई ऐन २०७९ आएको स्मरण गराउदै ऐन अनुकूलको नियमावली छिट्टै आउने जानकारी पनि दिए ।

सचिव गेलालले खानेपानी क्षेत्रका हालदेखिएका र भविष्यमा आउने सबै खाले चुनौतिहरुको समाधान गर्न सरकार सबैसंग सहकार्य गर्न तयार रहेको पनि जानकारी दिए । खानेपानी मन्त्रालयको समन्वयमा स्मार्ट वास सोलुसन्स प्रा.लिद्धारा आयोजित राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताको रुपमा एशियाली विकास बैंकका पूर्वउपाध्यक्ष डा.बिन्दुनाथ लोहनीले “पानी सुरक्षित र पानी लचिलो हुन के गर्ने ?“भन्ने विषयमा मन्तव्य दिनुभएको थियो भने इन्टरनेशनल रेनवाटर हार्भेष्टिड. एलायन्सका अध्यक्ष हान हेज्नानले “बर्षातको पानी अति मूल्यवान “ भन्ने विषयमा बताएका थिए । 

सम्मेलनमा स्वागत मन्तव्य प्रकट गर्दै स्मार्ट वास सोलुुसन्सका अध्यक्ष ई. रामदीप साहले जलवायु परिवर्तनले बर्षातको प्रवृत्ति परिवर्तन भैरहेको लामो खडेरी हुँदा पहाड र हिमाली क्षेत्रमा पानीको मुहान सुकेर बसाई सर्नुपर्ने बाध्यता उपस्थित भैरहेको र तराईमा भूमिगत पानीको तह घट्दै गएको बताए । उनले बर्षातको पानी संकलनलाई हरेकले घरमा ,समुदायमा उपयोग गर्न सके पानीको अभावका कारण सिर्जित हुने बर्षाको पानीको समुचित व्यवस्थापन नभएर बाढी र पहिरोजाने प्रवृत्ति न्यूनीकरण गर्न सकिने बताए । 

विश्वपानी दिवस सप्ताहको अवसर पारेर आयोजित सो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पूर्वमन्त्री ई. गणेश साहले पानीको समस्याबाट मुक्त  हुनासाथ व्यक्ति, परिवार,समाज र राष्ट्र विकासका अन्य कार्यमा समर्पित हुन पाउने भएकोले पानीका समस्या समाधान गर्ने विषयलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेका थिए । सम्मेलनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै नेपाल विज्ञान प्रविधि प्रज्ञाप्रतिष्ठान(नाष्ट)का पूर्वउपकुलपति डा. सुनिलबाबु श्रेष्ठले नेपाललाई पानीको संकटबाट मुक्त गर्न र पानीबाट आउने संकट न्यूनीकरण गर्न बर्षातको पानी संकलन अचुक उपाय भएको बताए । सम्मेलनको प्राविधिक समितिका संयोजक समेत रहेका डा. श्रेष्ठले सम्मेलनमा प्रस्तुत हुने कार्यपत्रहरुको बारेमा जानकारी पनि दिएका थिए । 

सम्मेलनलाई सम्बोधन गर्दै वाटर एड नेपालका देशीय प्रतिनिधि तृप्ती राईले वर्षातको पानी संकलनलाई घरमा सोलार राखेजस्तै सरल ढंगले उपयोगमा ल्याउन सके हरेक परिवार पानीको  संकटबाट मुक्त हुने बताए । यो सम्मेलनको सहआयोजकमा उच्चस्तरीय वागमती सभ्यता संरक्षण तथा विकास समिति, नगर विकास कोष, इन्टरनेशनल रेनवाटर हाभेष्टि, एलाएन्स, ग्लोबल पिस फाउण्डेशन नेपाल,दियालो टेक्नोलोजी प्रा.लि., बायोग्यास सपोर्ट प्रोग्राम र इन्भायरोमेन्ट एण्ड रिसोर्सेज म्यानेजमेण्ट कन्सल्टेन्सी (इआरएमसी)रहेका छन् । सम्मेलनलाई नेवाःह, नेपाल वाटर फर हेल्थ, एसएनभी, हेल्भेटास, बेष्ट पानी प्रा.लि.,सस्टेनेबल प्रस्परिटी इनिसियटिभ नेपाल, इन्टरनेशनल बाटर म्यानेजमेन्ट इन्स्टिच्युट र प्लाष्ट नेपाल फाउण्डेनको सहयोग रहेको छ ।

आयोजक समिति एवम् स्मार्ट वास सोलुसन्सका अध्यक्ष ई. साहका अनुसार सम्मेलनको अन्त्यमा काठमाडौं घोषणा जारी गरिने छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद