Media Network

फेवातालको सरसफाई सुरु


खबरस्टोरी संवाददाता

२५ आश्विन २०७९,मंगलवार

काठमाडौँ।पोखराको फेवातालको सरसफाई सुरु भएको छ ।जलकुम्भी झार फैलिएपछि आज बिहानदेखि सरसफाइ अभियान सुरु गरिएको हो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यहाँका विभिन्न सङ्घ संस्थालाई फेवाताल सरसफाइमा जुट्न आग्रह गर्दै सरसफाइ अभियान सुरु गरिएको हो ।

सरसफाइको पहिलो दिन विभिन्न सङ्घ संस्था, सरकारी कर्मचारी र सुरक्षाकर्मीद्वारा डुङ्गा तथा अन्य साधनको मद्दतबाट जलकुम्भी झार बाहिर निकाल्ने काम भइरहेको छ ।

तालको बीचभागमा अवस्थित तालबाराही मन्दिर दर्शन गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई जलकुम्भीले अवरोध गर्ने गरेको छ ।

 फेवाताल सरसफाइमा पोखराका ३३ वटै वडाका सङ्घ संस्था, आमा समूह, क्लबलाई सहभागी हुन आग्रह गरिएको छ । आचार्यका अनुसार ३३ वटै वडाका वडाध्यक्षको नेतृत्वमा विभिन्न समूह ताल सरसफाइमा परिचालित हुने छन् ।

फेवातालको दायाँबायाँ नेपाल सरकारले ६५ मिटर मापदण्ड तोकेको भए पनि ती क्षेत्रमा संरचना निर्माण गर्ने कार्य अझै रोकिएको छैन । मापदण्डकै विषयलाई लिएर मुद्दा परेपछि सर्वोच्च अदालतले तत्कालका लागि महानगरपालिकालाई फेवातालको डिलबाट ६५ मिटर मापदण्ड कार्यान्वयन गर्न आदेश दिएको थियो ।

बाह्र हजार आठ सय ७४ रोपनी क्षेत्रफलको फेवातालमा नौ हजार नौ सय ५५ रोपनी भाग पानीले ढाकेको छ । तालको पश्चिमी भागबाट आउने हर्पन खोलाको बाढीले प्रत्येक वर्ष ताल पुर्ने कार्य भइरहेको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद