Media Network

गण्डकीमा २५ पुसभित्र मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान


खबरस्टोरी संवाददाता

२१ पुष २०७९,बिहीबार

काठमाडौं । गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार बनाउनका लागि दलहरुलाई आह्वान गरेका छन् ।प्रदेशमा सरकार बनाउनका लागि दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सकने प्रदेश सभा सदस्यले पुस २५ गते सोमबार ४ बजेभित्र दाबी पेश गर्नु पर्ने छ ।

गण्डकी प्रदेशमा कुनै पनि दलको बहुमत नआएकाले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतको सरकार बनाउन आह्वान भएको हो ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले निकालेको विज्ञप्तिमा लेखिएको छ, ‘नेपालको संविधान, २०७२ को धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसकने प्रदेश सभा सदस्यलाई गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्ती गर्नका लागि पुस २५ गते ४ बजेभित्र दाबी पेश गर्न प्रदेश प्रमुखबाट आह्वान गर्नुभएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’

प्रदेश प्रमुखबाट सरकार गठनका लागि आह्वान भए पनि सत्ता गठबन्धनमा नेतृत्व कसले गर्ने भन्ने टुंगिएको छैन ।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले सरकार गठनका लागि आह्वान भए पनि कसको नेतृत्वमा सरकारमा जाने भन्ने नटुंगिएको बताए । केन्द्रबाटै निर्णय नआउँदा अनिर्णित भएको उनको भनाइ थियो । ‘प्रदेश प्रमुखबाट आह्वान भएको थाहा पायौं तर हामीले केन्द्रको निर्णयबिना केही गर्न सक्दैनौं,’ चुमानले बताए ।

एमाले संसदीय दलका नेता खगराज अधिकारी आफू छलफलमा रहेको बताए । गण्डकीमा एमालेका २२, माओवादीका ८, राप्रपाका २ जना सांसद मिलेर सरकार बन्ने सम्भावना छ । यसबाहेक ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७ र एकीकृत समाजवादीका १ जना छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद