Media Network

गोरखा जिप दुर्घटनामा मृत्यु भएका पाँचै जनाको सनाखत , चार जना एउटै वडाका


खबरस्टोरी संवाददाता

८ असार २०८०,शुक्रबार

गोरखा । गोरखामा जन्ती सवार जिप दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मृतकहरुमध्ये चार जना एउटै वडाका छन् ।

डिएसपी लिलाराज खनालका अनुसार शहीद लखन गाउँपालिका–५ पोखरीडाँडाका १९ वर्षीय प्रविन थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा, १९ वर्षकै नविना थापाको दुर्घटनामा मृत्यु भएको छ । यसैगरी शहीद लखन गाउँपालिका वडा नम्बर ४ का ६४ वर्षीय धनबहादुर थापाको पनि दुर्घटनामा मृत्यु भएको छ ।

शहीद लखन गाउँपालिका वडा नम्वर ३ कोटगाउँबाट जन्ती लिएर पोखरीडाँडा जाँदै गरेका तीनवटा गाडीहरुमध्ये प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जिप पातलेखोला भन्ने स्थानमा आज बिहान करिब २ बजेतिर दुर्घटना भएको थियो । उक्त जिप घुम्ती सडकबाट अन्दाजी २५० मिटर तल भीरमा खसेको छ ।

जिपमा १९ जना सवार थिए । दुर्घटनामा १२ जना घाइते भएका छन् भने दुई जना सकुशल छन् । गम्भीर घाइते शहीद लखन गाउँपालिका–५ पोखरीडाँडाका ३८ वर्षीय लालु थापालाई चितवन मेडिकल कलेज भरतपुरमा रिफर गरिएको छ भने अन्य ११ जना घाइतेहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय मनकामनाबाट प्रहरी नायब निरीक्षक जीवलाल सुवेदीको कमाण्डमा ६ जना र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेको कमाण्डमा २० जनाको टोली उद्धारका लागि परिचालित भएको थियो । उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीले पनि सघाएका थिए ।

गोरखामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

Share:
Reaction :
ताजा समाचार
खेलकुद