Media Network

हिम पहिरोमा बेपत्ता ५ जनाको पहिचान खुल्यो


खबरस्टोरी संवाददाता

२० बैशाख २०८०,बुधबार

कैलाली । दार्चुलाको व्याँस गाउँपालिका–१ छाङरुस्थित भोलुम डाँडामा हिम पहिरोमा परी बेपत्ता ५ जनाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहका अनुसार बेपत्तामध्ये ३ जना डोटी बुडरका छन् भने २ जना दार्चुलास्थित व्याँसको छिमेकी दुँहु गाउँपालिकाका छन् ।

डोटीको जोरायल गाउँपालिका–२ बुडरकी ४५ वर्षीया नक्नी डोल्मा थापा, सोही ठाउँकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापा अहिलेसम्म फेला परेकी छैनन् ।

यस्तै उक्त हिम पहिरोमा परी दुँहु गाउँपालिका–४ की ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रवीण कुँवर पनि बेपत्ता भएका छन् । उक्त क्षेत्रमा हिमपात भइरहेको छ । बाक्लो हिउँ र अँध्यारो भएकाले छाङरुबाट गएको सशस्त्र र नेपाल प्रहरीको टोली हिजो साँझ ७ जनाको उद्धार गरी फर्किएको थियो ।

अहिलेसम्म मौसममा सुधार आएको छैन । केही बेरपछि पुनः उद्धार टोली पठाइने इन्सपेक्टर सिंहले जानकारी दिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद