Media Network

कर्णाली सरकारले गर्‍यो ५७ जना कर्मचारीको सरुवा


खबरस्टोरी संवाददाता

७ भाद्र २०८०,बिहीबार

सुर्खेत । कर्णाली प्रदेश सरकारले मन्त्रालय, प्रदेश मातहतका विभिन्न कार्यालयमा कार्यरत ५७ जना कर्मचारीहरूको सरुवा गरेको छ । गत ३२ साउनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निजामती कर्मचारीको सरुवा गरेको हो ।  

विशेष गरी सहायकस्तर पाँचौँ तहका कर्मचारीहरूको सुरुवा गरिएको छ भने स्वास्थ्य क्षेत्रका कर्मचारीको पनि कार्य जिम्मेवारीमा हेरफेर गरिएको छ । यस्तै सहायकस्तर छैटौँ, नायब सुब्बा र अधिकृतहरूको पनि सरुवा भएको छ । मुख्यमन्त्रीको कार्यालयले अहिले कार्यरत कार्यालयबाट प्रदेश मातहतकै अर्को कार्यालयमा सुरुवा गरेको हो ।

भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका चारजना कर्मचारीलाई सरुवा गरिएको छ । मन्त्रालयमा लामो समयदेखि कार्यरत अधिकृत राजेन्द्र पौडेललाई योजना आयोगमा सुरुवा गरिएको छ । 

योजना आयोगमा कार्यरत अधिकृत सुनिल लिम्बुलाई पौडेलको ठाउँमा ल्याइएको छ । लिम्बुले आयोगमा हुँदा निमित्त कार्यालय प्रमुख भएर समेत काम गरेका थिए भने त्यसअघि उनी सामाजिक विकास मन्त्रालयमा थिए । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत शाखा अधिकृत नृपजङ्ग शाहीलाई कानुन मन्त्रालयमा कामकाजका रूपमा पठाइएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका पनि तीन जना कर्मचारीलाई सरुवा गरिएको छ । सरुवा हुनेमा एक जना शाखा अधिकृत, एक जना अधिकृत र एक जना सहायक रहेका छन् । शाखा अधिकृत जनकबहादुर हमाललाई प्रदेश सभा सचिवालयमा कामकाजका लागि खटाइएको छ भने भीमबहादुर कार्कीलाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा पठाइएको छ । 

यस्तै अर्थ मन्त्रालयका चार जना कर्मचारीको सरुवा गरिएको छ । अर्थ मन्त्रालयका दीपक प्रसाद शर्मालाई जलस्रोत मन्त्रालयमा पठाइएको छ भने गणेश प्रसाद श्रेष्ठ र जनक चपाइलाई प्रदेश अस्पताल सुर्खेतमा पठाइएको छ । यस्तै अर्थ मन्त्रालयकी कम्प्युटर सहायक इन्द्राकुमारी शाहीलाई प्रदेश वन निर्देशनालयमा पठाइएको छ । 

सबैभन्दा बढी सामाजिक विकास मन्त्रालयका पाँच वटा कर्मचारीको सुरुवा गरिएको छ । अन्य स्वास्थ्य संस्थाका कर्मचारीको पनि कार्यालय हेरफेर गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । 

जिल्लामा रहेका प्रदेश सरकार मातहतका कार्यालयका कर्मचारीको पनि हेरफेर गरिएको छ । पूर्वाधार विकास कार्यालय सल्यानमा कार्यरत टेकबहादुर क्षेत्रीको डिभिजन वन कार्यालय सल्यानमा सरुवा गरिएको छ ।

कृषि विकास कार्यालय हुम्लामा कार्यरत वीरेन्द्र बहादुर माझिलाई सामाजिक विकास मन्त्रालयमा तानिएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद