Media Network

काठमाडौँमा अझै हटेन वायु प्रदूषण


खबरस्टोरी संवाददाता

६ बैशाख २०८१,बिहीबार

काठमाडौँ । काठमाडौँ उपत्यको वायु अझै अस्वस्थ रहेको पाइएको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको वन डढेलो र वर्षा हुन नसक्दा वायुमण्डलमा धुलोको कण रहिरहेकाले वायु अस्वस्थ बनेको हो ।

एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौँ उपत्यकाको वायुप्रदूषण एक सय ५२ एक्यूआइ मापन गरिएको छ । आज काठमाडौँ विश्वको पाँचाँै प्रदूषित सहरका रुपमा सूचीकृत छ ।विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले वायु प्रदूषण नियन्त्रणसम्बन्धी सरकारी नीति राम्रो भए पनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा काठमाडौँ वायु प्रदूषणको हिसाबले प्रदूषित सहरका रुपमा अग्रस्थानमा रहेको बताएका छन् ।

“काठमाडौँमा बढेको प्रदूषणका कारण जनस्वास्थ्यमा असर गर्न सक्छ । प्रदूषणका कारण विभिन्न रोग लाग्न सक्ने भएकाले नियन्त्रणका लागि पहल गर्नुपर्छ”, उनले भने, “प्रदूषण नियन्त्रणसम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयन गर्न र प्रदूषकलाई कारबाही प्रक्रिया अगाडि बढाउन सक्नुपर्छ र स्थानीय तहलाई पनि सचेत र सबल बनाउन जरुरी छ ।”

काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा नेपाल सरकारले निर्धारण गरेको एक्युआइको मान तीन सयभन्दा बढी भएको अवस्थालाई विपद्का रुपमा लिने बताएको छ । यो विपद् रोक्नका लागि कार्ययोजनामा फोहर बाल्ने कार्य रोक्ने, सडक सफा गर्न ब्रमुर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्न कार्ययोजनामा उल्लेख छ ।

राष्ट्रिय वातावरण नीति २०७६ अनुसार प्रदूषण न्यूनीकरण गर्नका लागि जल, वायु, माटो, ध्वनि, विद्युत्–चुम्बकीय तरङ्ग, रेडियोधर्मी विकिरण, जोखिमपूर्ण रासायनिक प्रदूषण रोकथामसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गरिने सरकारी रणनीति छ । प्रमुख सहरहरू, औद्योगिक प्रतिष्ठानलगायत प्रदूषणको जोखिममा रहेका क्षेत्रमा गुणस्तर मापनकेन्द्र स्थापना र सञ्चालन गर्दै वायु, जल, ध्वनि गुणस्तरको नक्साङ्कन गरिने उल्लेख छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद