Media Network

लागुऔषध बढ्दा राष्ट्रिय लक्ष्य प्राप्त गर्नसमेत बाधा पुग्ने : गृहमन्त्री


खबरस्टोरी संवाददाता

११ असार २०८०,सोमबार

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागुऔषध बढ्दा  राष्ट्रिय लक्ष्य प्राप्त गर्नसमेत बाधा पुग्ने बताएका छन्।

सोमबार लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘विभिन्न तथ्यांकहरुबाट लागुऔषधका प्रयोगकर्ता बढ्नु, अपराधको दर बढ्दै जानु, लागुऔषधको अवैध कारोबार बढ्नु चिन्ताजनक स्थिति रहेको छ ।’

लागुऔषधको प्रयोग नेपालमा पनि समस्याको रुपमा देखापर्दै आएको बताउँदै उनले यसबाट समृद्ध राष्ट्र निर्माणको राष्ट्रिय लक्ष्य प्राप्त गर्नसमेत बाधा पुग्ने बताए । स्वस्थ, सभ्य, अपराधमुक्त र समुन्नत समाज निर्माण गर्ने राष्ट्रिय लक्ष्य हाँसिल गर्न पनि बाधा पुग्ने उनको चिन्ता छ ।

लागुऔषध सेवनकर्ता २० देखि २९ वर्ष उमेर समूहको संख्या बढी प्रभावित भएको भन्दै उनले विकासका संवाहक र भविष्यका उत्पादनशील युवा जनशक्ति दुव्र्यसनमा फस्दा व्यक्ति स्वयं, परिवार, समाज र राष्ट्रका लागि हानिकारक हुने बताए ।

उनले अगाडि भने, ‘लागुऔषध सेवनकर्ता २० देखि २९ वर्ष उमेर समूहको संख्या बढी प्रभावित भएको छ । विकासका संवाहक र भविष्यका उत्पादनशील युवा जनशक्ति दुर्व्यसनमा फस्दा व्यक्ति स्वयं, परिवार, समाज र राष्ट्रका लागि हानिकारक हुन्छ ।’

मन्त्री श्रेष्ठले लागुऔषध नियन्त्रणसम्बन्धी राष्ट्रिय नीति तथा रणनीति र कानूनले अंगीकार गरेका कार्यक्रमको सफल कार्यान्वयन गर्न सबै पक्षबाट इमान्दार प्रयासको आवश्यकता औंल्याए ।

‘मुलुकको सर्वाङ्िगण विकास, समृद्धि एवं शान्ति सुरक्षा र सुशासन कायम गर्ने दिशामा लागुऔषध अपराधविरुद्धको राष्ट्रिय उपादेयिता जुटाउन अपरिहार्य भएको छ,’ मन्त्री श्रेष्ठले भने, ‘लागुऔषध नियन्त्रणसम्बन्धी राष्ट्रिय नीति तथा रणनीति र कानूनले अंगीकार गरेका कार्यक्रमको सफल कार्यान्वयन गर्न सबैपक्षबाट इमान्दार प्रयासको आवश्यकता रहेको छ ।’

Share:
Reaction :
ताजा समाचार
खेलकुद