Media Network

महानगरपालिकाका मेयर उपमेयरहरुको पोखरामा जमघट


खबरस्टोरी संवाददाता

१४ श्रावण २०७९,शनिबार

पोखरा । कास्कीको पोखरामा जारी प्रथम महानगर प्रमुख ‘मेयर सम्मेलन’ शनिवार सकिँदैछ । पोखरा महानगरको आयोजनामा भएको सम्मेलनमा आयोजक पोखरासहित काठमाडौँ, विराटनगर, चितवन, ललितपुर र वीरगञ्ज महानगरका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको छ ।

सम्मेलनमा सहभागी हुन आएका प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतलाई महानगरले शुक्रबार पोखरामा पोखरेली ढाका टोपी, सल र खादा ओढाएर स्वागत गरेको थियो ।  

महानगरले सम्मेलनलाई ‘मेट्रो मिट नेपाल’ नाम दिएको छ । सम्मेलनमा महानगर सञ्चालनका विद्यमान कानुन र आवश्यक सुधारका विषयमा छलफलसहित अनुभव आदानप्रदान गरिने पोखरा महानगर प्रमुख धनराज आचार्यले बताए ।

महानगरलाई जनउत्तरदायी बनाउन निर्वाह गर्नुपर्ने भूमिका तथा साझा सवालका विषयलाई सम्बोधन गर्न र कामलाई सहजीकरण गर्न सम्मेलन फलदायी हुने विश्वास लिइएको उनले बताए ।

सम्मेलनको पहिलो दिन राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदिशचन्द्र पोखरेलले सङ्घीयता, महानगर र अबको बाटो शीर्षकमा प्रतिवेदन प्रस्तुत गरेका थिए । सम्मेलनमा महानगरपालिकाका प्रमुखद्वारा महानगरपालिकाका मुख्य योजना तथा कार्यान्वयनका चुनौतीहरूबारे अनुभव आदानप्रदान गरेका थिए ।

सम्मेलनको दोस्रो तथा अन्तिम दिन शनिबार पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यद्वारा महानगरपालिकामा पूर्वाधार विकास तथा सुशासन, सुदृढ परियोजनाका डा. अजयचन्द्र लाल र सरोज बस्नेतद्वारा महानगरपालिकामा हरित, उत्थानशील तथा विकास अपरिहार्यता सम्भावना र चुनौतीहरू, महानगरपालिकाका प्रमुखद्वारा महानगरपालिकाका साझा सवाल तथा आगामी कार्यदिशा विषयमा समूहगत छलफल हुनेछ ।

पोखरा घोषणापत्र जारी गर्दै आगामी वर्ष २०८० का लागि महानगरपालिका मेयर सम्मेलनको घोषणा तथा आयोजक महानगरपालिकाका प्रमुखलाई ‘मेट्रो मिट नेपाल’ अङ्कित झण्डा हस्तान्तरण गरेर शनिबार समापन हुने पोखरा महानगरले जनाएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद