Media Network

मेलम्ची नदीको पानी एक महिनाभित्र उपभोक्तालाई वितरण गर्ने योजना


खबरस्टोरी संवाददाता

४ पुष २०८०,बुधबार

काठमाडौं । मेलम्ची नदीको पानी पथान्तरणको प्रक्रिया सुरु गरिएको छ ।मेलम्चीको पानी आपूर्तिको माग गर्दै काठमाडौंवासी प्रदर्शनमा उत्रिएपछि मेलम्चीको पानी पथान्तरणको प्रक्रिया सुरु भएको हो ।
खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले बुधबारदेखि मेलम्ची नदीको पानी पथान्तरण गरी चाँडै काठमाडौं ल्याउने कार्ययोजनाका साथ निर्माण व्यवसायी परिचालन गरिएको जानकारी दिए । मंगलबार सचिव आचार्यको अध्यक्षतामा मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठक बसेको थियो ।
समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तका अनुसार दुई सिफ्टमा जनशक्ति परिचालन गरी २८ दिनभित्र पानी पथान्तरणको कार्य सम्पन्न गर्ने गरी निर्माण व्यवसायी सिनो हाइड्रोसँग समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।
बाढीले मेलम्ची खानेपानीको मुहान र पहुँच मार्गमा क्षति पुगेपछि मेलम्ची खानेपानीको आपूर्ति रोकिएको छ । मनसुन सुरु हुनुअघि मेलम्चीको सुरुङ बन्द गरेर पानी ल्याउन रोकिएको थियो ।
खानेपानीको अभाव झेल्दै आएका काठमाडौंवासीले उपत्यका संघर्ष समिति गठन गरी रित्ता गाग्रा र बाल्टीसहित २ पुसमा प्रदर्शनमा उत्रिएका थिए ।
पानी माग्दै उपभोक्ताले प्रदर्शन गरेपछि मंगलबार खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा मेलम्ची खानेपानी विकास समितिको बैठक बसेको थियो ।
सहमति अनुसार निर्माण व्यवसायी सिनोहाइड्रो तत्कालै साइटमा परिचालित भएको प्रवक्ता पन्तको भनाइ छ । ‘आकस्मिक परिस्थिति परेको बाहेक बढीमा २८ दिनको कार्यतालिका अनुसार दुई सिफ्टमा जनशक्ति परिचालन गरी पानी पथान्तरणका लागि आवश्यक कार्य सम्पन्न गरिने छ,’ प्रवक्ता पन्तले भने ।
पथान्तरण पश्चात मेलम्चीको पानी दैनिक १७ करोड लिटरको दरले उपलब्ध गराइने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । सो पानी काठमाडौं उपत्यका खानेपानी लिमिटेड –केयूकेएल)बाट सुन्दरीजल पानी प्रशोधन केन्द्रमा प्रशोधन गरी काठमाडौं उपत्यकाका घर–घरमा पुनः वितरण हुने छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद