Media Network

मौन अवधी अगावै सम्पुर्ण निर्वाचन प्रचार सामग्री हटाउन आयोगको निर्देशन


खबरस्टोरी संवाददाता

३० कार्तिक २०७९,बुधबार

काठमाडौं । निर्वाचन आयोगले सामाजिक सञ्जालमा पोस्ट गरेका निर्वाचन प्रचारप्रसार सम्बन्धित सामग्रीहरु मंसिर १ गते राति १२ बजेसम्म हटाउन निर्देशन दिएको छ ।

आयोगले सामाजिक सञ्जालमा पोस्ट भएका निर्वाचन प्रचारप्रसार सम्बन्धित सामग्रीहरु मंसिर १ गते राति १२ बजेसम्ममा हटाइसक्न राजनीतिक दल तथा उम्मेदवारहरुलाई निर्देशन दिएको हो ।

निर्वाचन आयोग, नेपालका सहप्रवक्ता कमल भट्टराईले निर्वाचन आचारसंहीता बमोजिम स्थिर समय शुरु हुनुभन्दा ४८ घण्टा अघिबाट राजनीतिक दल र उम्मेदवारहरुले कुनैपनि तरिकाबाट निर्वाचन प्रचारप्रसार गर्न नपाउने बताए ।उनले आयोगले मंसिर १ गते राति १२ बजेबाट कुनैपनि राजनीतिक दल तथा उम्मेदवारले समाजिक सञ्जाल तथा अनलाइनको प्रयोग गरेर उम्मेदवारको पक्ष र विपक्षमा मत माग्न नपाउने बताए ।

सहप्रवक्ता भट्टराईले स्थिर समय शुरु हुनुपूर्व पोस्ट गरिएका निर्वाचन प्रचारप्रसारका सामग्रीहरु सम्बन्धित सामाजिक सञ्जाल तथा अनलाइनबाट हटाउनुपर्ने बताए । उनले उम्मेदवार तथा राजनीतिक दलहरुले आयोगको निर्देशन अटेर गरी सामाजिक सञ्जालबाट प्रचारप्रसार गरे वा प्रचारप्रसार सामग्री नहटाए निर्वाचन आयोग ऐनको दफा २३ र निर्वाचन आचारसंहीता २०७९ एवं निर्वाचन कसुर तथा सजाय ऐन बमोजिम आवश्यक कारबाही हुने बताए ।

‘निर्वाचन आचारसंहीता २०७९ बमोजिम मतदानको दिन भन्दा ४८ घण्टा अघिदेखि उम्मेदवार तथा राजनीतिक दलले कुनैपनि तरिकाबाट निर्वाचन प्रचारप्रसार गर्न नपाइने व्यवस्था छ । त्यसलाई हामीले त्यो बेला आचारणको रुपमा व्याख्या गरेका छौँ । कुनैपनि माध्यमबाट मत माग्न नपाइने भनेको सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट समेत प्रचारप्रसार गरेर मत मागन नपाइने व्यवस्था स्पष्ट हो । यस सन्दर्भमा आयोगले १ गते राति १२ बजेबाट कुनैपनि राजनीतिक दल तथा उम्मेदवारले समाजिक सञ्जाल तथा अनलाइनको प्रयोग गरेर उम्मेदवारको पक्ष र विपक्षमा मत माग्न नपाइने गरी निर्देशन जारी गरेको छ,’ उनले भने, ‘त्यसपूर्व नै सामाजिक सञ्जालमा कुनै त्यस्तो विज्ञापन छ भने त्यो अवधि शुरु हुनुभन्दा अगावै त्यस्ता किसिमका सामग्री सम्बन्धित सामाजिक सञ्जाल तथा अनलाइनबाट हटाउनसमेत आयोगले निर्देशन जारी गरेको छ । अटेर गरी विज्ञापन नहटाउने उम्मेदवार र राजनीतिक दललाई निर्वाचन आचारसंहीता २०७९ को उल्लंघन भएको ठहर गरी आयोगले निर्वाचन आयोग ऐनको दफा २३ र निर्वाचन आचारसंहीता २०७९ एवं निर्वाचन कसुर तथा सजाय ऐन बमोजिम आवश्यक कारबाही गर्नेछ ।’


Share:
Reaction :
ताजा समाचार
खेलकुद