Media Network

मेरो कार्यकालमा कोही लालपूर्जाविहिन हुने छैनन्ः हरी न्यौपाने


खबरस्टोरी संवाददाता

१८ जेष्ठ २०७९,बुधबार

नवलपरासीपूर्व देवचुली नगरपालिकाको मेयरमा नेकपा एमालेबाट हरीप्रसाद न्यौपाने निर्वाचित भए । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. सशांक कोइरालाको निर्वाचन क्षेत्रसमेत रहेको देवचुलीको स्थानीय सरकारको नेतृत्व सम्हाल्न आइपुगेका नगरपालिका प्रमुख न्यौपानेसँग स्थानीय सरोकारका विषयमा केन्द्रित रहेर गरेको कुराकानी प्रस्तुत गरेका छौं ।  

देवचुली नगरपालिकाको प्रमुख निर्वाचित हुनु भएको छ । सर्वप्रथम नगरपालिकाको कार्यभार सम्हाल्दै गर्दा नगरको सम्भावना र विकाशका प्राथमिकताहरु के देख्नु भएको छ ? 

खासगरी अघिल्लो जनप्रतिनिधिले गरेका राम्रा र अधुरा रहेका महत्वपूर्ण कामहरुलाई पूरा गर्ने मेरो पहिलो प्राथमिकता हो । शिक्षा, स्वस्थ्य, रोजगारका साथै बालबालिका क्षेत्रमा केही मनोरन्जनतर्फ जोड दिने खालका योजनाका साथै कभर्ड हाउस, ग्रीन पार्क निर्माण लगायतको काम गर्ने योजना बनाएका छौं । सँगसँगै यो पर्यटनको प्रचुर सम्भावना बोकेको क्षेत्र भएकाले पर्यटन प्रवद्र्धनका सन्दर्भमा केही कामहरु गर्नुपर्ने ठानेका छौं । पर्यटनका साथै होमस्टेको सम्भावना पनि उत्तिकै रहेकाले आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने योजना हामीले बनाउँदै छौं । 

अघिल्लो ५ वर्षको अवधिमा जनप्रतिनिधिले गर्न नसकेको महत्वपूर्ण कामहरु, जो तपाईँका नजरले देखेका छन्, ती के हुन् ? 

अघिल्लो कार्यकालमा नबिनतम कामहरु केही पनि देखिदैनन् । बाटाघाटा, कालोपत्रे, ग्राभेल आदि इत्यादी कामहरु पनि न्यून मात्रै देखिएका छन् । अहिलेको आवश्यकता अनुसारका नविनतम कामहरु भएको देवचुलीबासीले महशुस गर्न पाएका छैनन् । देवचुलीवासीले अपेक्षा गरेअनुसकार कामहरु गर्नका लागि हामीले मसिनो गरी योजनाबद्ध ढंगले लाग्दैछौं । के गर्दा जनता सुखी र खुशी हुन्छन् र जनताको समस्या समाधान हुन्छ त्यसैअनुरुप परिणाममुखी बनाउने कुरामा हामी तत्पर छांै ।

नेपाली कांग्रेसका प्रभावशाली नेता डा. सशांक कोइरालाको क्षेत्रसमेत पर्ने यो पालिकामा कांग्रेसलाई हराएर तपाईहरुलाई जनताले विश्वास गरेका छन् । तपाईँ त्यस्तो नबिनतम, काम के गर्नु हुन्छ होला ? 

यो एकदमै महत्वपूर्ण कुरा हो । हामीलाई निकै चुनौति छ । माननीय सशांक कोइराला पटक पटक निर्वाचित हुनु भएको यो क्षेत्रमा अहिले हामीले स्थानीय सरकारको कार्यभार सम्हाल्ने मौका हामीले पाएका छौं । हामीले यहाँको साधनस्रोतले भ्याएसम्मको नयाँ योजना तयार बनाएर जनतालाई परिवर्तन र विकासको अनुभूति गराउने कुरामा लाग्छौं ।  माननीय सशांक कोइरालाले गरेको कामको अनुभूमि यहाँका नागरिकले गरिसक्नु भएको छ । उहाँले यहि क्षेत्रबाट तीन तीन पटक निर्वाचित भइसक्दा कति काम गर्नु भयो र जनता कति सन्तुष्ट भए भन्ने कुरा स्पष्ट भइसकेको छ । जनताले आफै बुझ्नु भएको छ । म यसबारेमा उहाँको आलोचना गर्न चाहन्न । त्यसैको विकल्पको रुपमा स्थानीय सरकारका रुपमा म लगायत मेरो टिमलाई जनताले निर्वाचित गर्नु भएको छ । देवचुलीबासीले दिएको मतलाई सम्मान र कदर गर्दै अबको ५ वर्षको कार्यकालमा अतिउत्तम विकासको अनुभूति गराउने गरी म योजना बनाएर लाग्ने छु । शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन जस्ता कामहरुमा मैले ध्यान दिनेछु । सँगसँगै वृद्धा, बालबालिका, युवा, अपाङगता भएका नागरिक सबैले अनुभूति गर्ने किसिमका कामहरुमा मेरो ध्यान जानेछ । मेरो आफ्नो समय देवचुलीको विकासको निम्ति अबको पाँच वर्षमा फरक अनुभूति गर्ने गरी म लाग्ने छु । विकासको अनुभूति गराउने कुरामा मेरो आफ्नो प्रतिवद्धता जाहेर गर्न चाहन्छु । 

स्थानीय तहको निर्वाचनअघि नेपालमै पहिलो पटक देवचुली नगरपालिकामा ‘नोट लालपूर्जा नो भोट’ अभियान चलेको थियो । यी सुकुम्बासीको माग सम्बोधन कसरी हुन्छ ? 

देवचुली नगरपालिकाबासीले हामीलाई विश्वास गरी निर्वाचित गराउनु भएकाले नगरपालिकाको पहिलो बैठकबाट नै हामीले लालपूर्जा दिने सन्दर्भमा पहल गर्नेछौं । त्यसका लागि हामी सम्बन्धित निकायमा डेलिगेशन जाने र सरकारलाई छिटो भन्दा छिटो आयोग बनाउनका लागि दबाब दिने पहिलो काम गर्छौं । हामीले जनताको काम गर्नुपर्छ, हामीलाई जनताको दबाब परिरहेको छ । हामी जनताको काम गर्न तत्पर छौं । सँगसँगै देवचुली नगरपालिकाको तर्फबाट त्यस कामका लागि बजेट बिनियोजन गर्नेदेखि आवश्यक प्राविधिक जनशक्तिको ब्यवस्था गरेर अघि बढ्न नगरपालिका तयार छ । हामी आयोगको पर्खाइमा छौं । आयोग छिटो दिनुस् भनेर हामीले विपक्षी दलका नेतालाई पनि गुहारेका छौं । चाडै आयोग दिने वित्तिकै हामी यो काम सूचारु गर्छौं । जनतालाई पूर्जा दिने काममा बर्खा, झरी केही नभनी म नगरपालिकाको प्रमुखको हैसियतले लाग्नेछु । मेरो कार्यकालभित्र यहाँका कुनै पनि नागरिक  लालपूर्जाविहिन हुने छैनन् । जो जहाँ बस्नु भएको छ, त्यही ठाउँको पूर्जा वितरण गर्न नगरपालिका प्रतिवद्ध छ । 

देवचुली नगरपालिकाको केही पहाडी भेगसमेत रहेको हुँदा ती पहाडी भेगका बासिन्दा सधैं उपेक्षित हुने गरेका छन् । उपेक्षित पहाडी भेगका नगरवासीका सन्दर्भमा नगरको योजना के रहन्छ ? 

हो, विगत लामो समयदेखि नगरपालिका भित्रका पहाडी भेगका बासिन्दा उपेक्षित छन् । नगरपालिका भइसकेपछि पनि यहाँका बासिन्दाले नगरपालिकाबाट पाउनुपर्ने न्यूनतम सुविधासमेत पाउन सक्नु भएको छैन । उहाँहरुलाई अहिलेसम्म विकासको अनुभूति हुन सकेको छैन । हामी यस विषयमा गम्भीर छौं । सबै ठाउँमा मोटरेबल बाटो र विभिन्न ठाउँमा पुलहरु निर्माण गर्नेबारेमा योजना बनाउँदैछौं । साथै, पहाडी भेगमा अदुवा, बेसार लगायतका ब्यवसायिक उत्पादन एवम् बाख्रा, बंगुर लगायतका ब्यवसायिक पशुपालन केबाट नगरवासी बढी लाभान्वित हुन्छन्, त्यसबारेमा अध्ययन गरेर कार्ययोजना अघि बढाउने छौं । त्यस क्षेत्रका किसानलाई ब्यवसायीकरण गरेर अघि बढाउने सन्दर्भमा हामी गम्भीर ढंगले लाग्ने छौं । हामी नगरपालिकाभित्रको पहाडी भेगका सबै नागरिकलाई विकास, ब्यवसाय एवम् रोजगारको अनुभूति गराउन पूर्ण प्रतिबद्ध छौं । 

लामो समय ब्यवसायिक रुप पशुपालन गरेर त्यस क्षेत्रमा विज्ञता हासिल गर्नु भएको तपाईँ स्वयं भएकाले ब्यवसायिक किसानको समस्यालाई कसरी सम्बोधन गर्ने सोच्नु भएको छ ? 

अत्यन्तै महत्वपूर्ण कुरा उठाउनु भयो । बास्तवमा म आफै किसान हुँ र किसानको समस्याकाबारेमा जानकार छु । अहिले कृषि क्षेत्र अत्यन्तै जटिल अवस्थामा छ । कतिपय कृषक तथा पशुपालकहरु किसानहरु धारासायी अवस्थामा पुग्नु भएको छ । ब्यवसायिक किसानहरु पलायन हुने अवस्था देखिरहेको छु । ब्यवसायिक किसानहरुलाई पलायन हुनबाट रोक्न र ऊर्जा प्रदान गरी ब्यवसायिक कृषि क्षेत्रमा थप आकर्षित गर्ने कार्यक्रमहरु हामीले अगाडि सार्न जरुरी छ । त्यसकारण के के कुरामा अनुदान दिएर हुन्छ वा कसरी सहयोग गर्न सकिन्छ भन्नेबारेमा उहाँहरुसँग नै छलफल तथा अन्तरक्रिया गरी लागत घटाएर फाइदामा लैजाने सन्दर्भमा हामीले महत्वपूर्ण कदम चाल्नेछौं । किसानहरुको भेलाबाट नगरस्तरीय समिति बनाउनुपर्ने मैले आवश्यकता देखेको छु । दूध तथा तरकारी उत्पादन गर्दै आएका ब्यवसायीक किसानहरुको टोलीसँग अन्तरक्रिया गरी अगाडि बढ्ने भन्नेबारेमा हामी लाग्ने छौं । अपेक्षित लाभ लिन नपाएका र ब्यवसायबाट निरुत्साहित हुँदै गएका सबै किसानहरुसँग बसेर थप योजना बनाइ उहाँहरुलाई सफल किसान बनाउने सन्दर्भमा हामी गम्भीर ढंगले अघि बढ्नेछौं । 

देवचुली नगरपालिकामा रहेको चौधरी उद्योगले सार्वजनिक जग्गा अतिक्रमण गर्नेदेखि वातावरण प्रदुषण गर्ने गरेको विषय पनि बारम्बार उठ्ने गरेको छ । विगतका जनप्रतिनिधिहरुले यसतर्फ ध्यान नदिएको स्थानीयको गुनासोलाई कसरी सम्बोधन गर्नु हुन्छ ? 

देवचुली नगरपालिकाभित्रका सार्वजनिक जग्गामा लामो समयदेखि बस्दै र जग्गा उपभोग गर्दै आएका नागरिकलाई त्यही ठाउँमा पूर्जा उपलब्ध गराउनु पर्छ, त्यसमा हामी प्रतिबद्ध छौं । त्यसबाहेक ब्यवसायीहरुबाट अतिक्रमण गर्दै आएका जमीनहरु भने नगरको स्वामित्वमा रहन्छ । सार्वजनिक जग्गाहरु कुनै उद्योग कलकारखानाले अतिक्रमण गरेको छ भने अतिक्रमण रोक्नका लागि नगरबाट उपयुक्त कदम चाल्ने छौं । 

अर्कोकुरा, उद्योग वरिपरिका बस्तीहरुमा वातावरण प्रदुषण भई नागरिकहरु प्रताडित हुने गरेका छन् । उद्योगले वातावरणीय प्रभाव पारेको भन्दै पीडितका तर्फबाट गठित स्थानीय वातावरणीय समितिबाट आएका गुनासाहरु विगतमा सम्बोधन हुन सकेनन् । यसतर्फ हाम्रो ध्यानाकृष्ट भएको छ । हामी स्थानीय समिति र उद्योग सञ्चालकसँग छलफल गरी प्रदुषण रोक्नेबारेमा उपयुक्त निर्णय लिनेछौं । 

अन्तमा, निर्वाचनअघि देवचुलीबासीलाई दिएका आश्वासनहरुका बारेमा के भन्न चाहनुहुन्छ ? 

बास्तवमा हामी धेरै ठूला आश्वासन र गर्नै नसकिने केही पनि सपना बाँडेका छैनौं । हामीले अहिले देखापरेका स्वास्थ्य, शिक्षा, रोजगार, सुकुम्बासीलाई लालपूर्जा, किसानलाई मल बिउ जस्ता अत्यावश्यक विषयहरुहरु कार्यान्वयनमा ल्याउने गरी अघि बढ्ने योजना बनाएका छौं । देवचुलीबासीलाई राहतको महशुस हुने गरी नै काम गर्नेछौं । नगरबासीले प्रत्यक्ष लाभको महशुस गर्ने गरी काम गर्नका लागि खाका कोर्दैछौं । खाका कोरिसकेपछि त्यसलाई योजनामा लैजाने र देवचुलीको विकास र साँच्चिकै परिवर्तनको अनुभूति दिलाउने गरी काम गर्न हामी प्रतिवद्ध छौं ।   



 


Share:
Reaction :
ताजा समाचार
खेलकुद