Media Network

मेयर बालेनको चेतावनी : महानगरको पढाइ अवरुद्ध गर्ने शिक्षकलाई पदबाट हटाउने


खबरस्टोरी संवाददाता

२ असार २०८०,शनिबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले महानगरभित्रका सामुदायिक विद्यालयको पठनपाठन बन्द नहुने बताएका छन् । उनले भोलिदेखि देशभरका सामुदायिक विद्यालयका पठनपाठन बन्द गर्ने समाचार आएसँगै महानगरको ध्यानाकर्षण भएको बताए ।

मेयर शाहले काठमाडौँ महानगरका सम्पूर्ण सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी एवं विद्यालय व्यवस्थापन समितिलाई महानगरका सम्पूर्ण विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिएका छन् ।

काठमाडौँ महानगरका विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न बाधा पु¥याउने कुनै संस्था वा कर्मचारीहरूलाई कारबाही हुने उनको भनाइ थियो ।

‘काठमाडौँ महानगरपालिका सम्पूर्ण सामुदायिक विद्यालय, विद्यालयमा कार्यरत कर्मचारीहरू एवं विद्यालय व्यवस्थापन समितिलाई नियमित कक्षा सञ्चालन गर्न निर्देशन गर्दछ,’ उनले भने, ‘काठमाडौँ महानगरका विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न बाधा पु¥याउने कुनै संस्था वा कर्मचारीहरूमाथि कारवाही हुने छ ।’

उनले नेपाल सरकारको निर्णयानुसार विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिएको तथा विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ को बुँदा न ६.२ को (घ)ले विद्यालयमा कुनै पनि दलीय राजनीतिक तथा अन्य स्वार्थका लागि विद्यालय बन्द, हडताल र पठनपाठनमा अवरोध गर्ने जस्ता क्रियाकलाप नभएको हुनु पर्ने व्यवस्था गरेको स्मरण गराए ।

मेयर शाहले नियमित रुपमा विद्यालय सञ्चालन नभए शिक्षक वा कर्मचारी अनुपस्थित भएमा काठमाडौँ महानगर शिक्षा ऐनको दफा ४१ (क) बमोजिम शिक्षक वा कर्मचारीलाई पदबाट हटाउने बताए ।

यस्तै, उनले विद्यालय व्यवस्थापन समितिबाट नियमित कक्षा सञ्चालनका निम्ति पहल नभएमा विद्यालय व्यवस्थापन समिति विघटन गरिने, कुनै संस्थाले बल प्रयोग गरी बन्द गरेको खण्डमा नेपाल प्रहरीसँग समन्वय गरी नियन्त्रणमा लिन लगाई फौजदारी मुद्दा चलाउने र काठमाडौँ महानगर शिक्षा ऐन एवं प्रचलित अन्य कानुन बमोजिम कारबाही गरिने जनाए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद