Media Network

नगरवासीको दुःख कष्टसँग परिचित छौंः रुद्रप्रकाश उपाध्याय


रवि पाण्डेय

११ जेष्ठ २०७९,बुधबार

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ निवासी रुद्र प्रकाश उपाध्यायले सामाजिक ब्यक्तित्वको साथै तथा सहकारी अभियन्ताको रुपमा आफूलाई उभ्याउँदै आएका छन् । तुलनात्मक रुपले नगरवासी माझ स्वच्छ छविका रुपमा परिचित उनी नेकपा (माओवादी केन्द्र)मा आवद्ध छन् । बिगत लामो समयदेखि स्थानीय रुपमा खानेपानी, बजार समिति तथा सहकारीको नेतृत्व गर्दै आएका उपाध्याय सत्तारुढ गठबन्धनको तर्फबाट बर्दघाट नगरपालिकाको उपप्रमुख पदमा निर्वाचित भएका छन् ।
प्रकाश विप्लवीका नामलेसमेत चिनिने उनी सार्वजनिक जग्गा संरक्षण अभियानमा पनि सक्रिय छन् । बर्दघाट नगरपालिकाका नवनिर्वाचित उपप्रमुख रुद्र प्रकाश उपाध्यायसँग नगरपालिकामा अबको प्राथमिकताबारेमा पत्रकार रवि पाण्डेयले कुराकानी गरेका छन् । 

सर्वप्रथम नगर उपप्रमुखमा निर्वाचित हुनुभएकोमा बधाई छ । बधाईसँगै नगर उपप्रमुखको हैसियतबाट नगरपालिकाको प्राथमिकताहरु के छन् ? 

 – पहिलो, प्राथमिकता मेयर पदमा बिजयी हुनुभएका आदरणीय शम्भुलाल श्रेष्ठलाई  नजिकबाट सहयोग गर्ने भूमिका हुन्छ । दोस्रो, उपमेयरका लागि कानूनले निर्दिष्ट गरेका, निर्देशिका र स्थानीय शासन  ऐनले ब्यवस्था गरेका, अधिकारलाई जनताको हितमा लागू गर्न प्रयासरत हुनेछु । खासगरी न्यायिक समितिको संयोजकको नाताले अन्यायमा परेका आम जनमानसलाई न्याय दिलाउने मेरो भूमिका हुन्छ ।

कानूनले उपमेयरलाई धेरै नै अधिकार दिएको छ । तर पनि अघिल्लो अभ्यासमा उपमेयर पद कामकाजी देखिएन, यसमा तपाईको मत ? 

 – यसमा दुईवटा कुरा सँगसँगै हुन्छ । पहिलो, प्रमुखले पनि उपप्रमुखसँग सहयोग लिनुपर्छ भन्ने कुरा महसुस नगरेको हकमा त्यस्तो हुनसक्छ । दोस्रो, उपप्रमुखसँग काम गर्नुपर्छ भन्ने इच्छाशक्ति, जागरुकता र क्षमताको कमीले त्यस्तो हुनसक्छ । म दुईवटै कुरामा टाढा छु । म उपप्रमुखको काम कर्तब्य र अधिकारप्रति सचेत छु ।

उपप्रमुखलाई न्यायको क्षेत्रमा मात्र नभएर सामाजिक सुरक्षाको क्षेत्रमा पनि धेरै अधिकार दिइएको छ । त्यसमा तपाईले कसरी नौलोपन ल्याउनुहुन्छ  ?

उपमेयरलाई न्यायिक क्षेत्रबाहेक संघसंस्थालाई निर्देशन र समन्वय गर्नेसम्मका अधिकार दिइएको छ । संघसंस्था र संघसंस्थाका नेतृत्वले निःस्वार्थ स्वयसेवीका रुपमा योगदान गरिरहनुभएको छ । मैले हिजोदेखि नै सामाजिक क्षेत्रको नेतृत्व गर्दै आएको हुनाले उहाँहरुका दुःख कष्टसँग परिचित भएको नाताले समन्वय गर्ने, परिचालन गर्ने र उहाँहरुको अनुभव र क्षमतालाई जनताको पक्षमा सदुपयोग योजना निर्माण गर्नेछु । साथै, महिला र बालबालिका मात्र नभई महिलाहरुका उत्साह र संगठनलाई, बालबालिकाहरुका ऊर्जा र जेष्ठ नागरिक अनुभवलाई समाज विकासमा लगाउने हाम्रो  ध्यान दृष्टि छ ।

अहिले देशैभर महिला हिंसा तथा बाल अधिकार हनन्का घटना बढिरहेका छन् । तपाई जनयुद्धबाट आएको नेतृत्व समेत भएको हुनाले न्यायिक क्षेत्रबाट यस्ता घटनालाई कसरी सम्बोधन गर्नुहुन्छ ?

   – बलात्कारका घटना फौजदारी अभियोगमा भित्र पर्छ । त्यसको अधिकार न्यायिक समितिलाई हँुदैन । तर हिंसामा परेका, अन्यायमा परेका परिवारहरुको संरक्षक रक्षा गर्ने, उहाँहरुलाई सुरक्षा प्रदान गर्ने र उहाँहरुको साथ र सहयोगमा नगरपालिका छ भन्ने प्रत्याभूति दिने काम गर्नेछौं ।

न्यायिक समितिमा फछ्र्यौट हुन नसकेका मुद्दाहरुलाई कसरी किनारा लगाउनु हुन्छ ? 

– मैले त्यो मुद्दाहरुका फाइल हेरिसकेको छैन । ती मुद्दा बढी अप्ठेरा भएका कारणले फछ्र्यौट नभएको पनि हुन सक्छन् । मुद्दाहरु समय अभावका कारण, कर्मचारी र न्यायिक समितिको नेतृत्व सक्षम हुँदा हँुदै पनि फछ्र्यौट हुन नसकेको हुनसक्छ । त्यसको कारण खोजेर ती मुद्दाहरुलाई हल गरेर जाने प्रयत्न रहन्छ ।

उपप्रमुखले अधिकांश समितिहरुको नेतृत्व गर्न पाउने ब्यवस्था छ, विकास निर्माणको अनुगमन र उपभोक्ता हित संरक्षणका क्षेत्रमा तपाईँ कसरी अगाडि बढ्नुहुन्छ ?

     –यसमा निःस्वार्थ रुपले, कुनै खराब नियत नराखेर काम गर्दै जाने हो । सम्बन्धित क्षेत्रका धेरै जानकार साथीहरुको सहयोगको अपेक्षा पनि राख्छु । उहाँहरुसँग सहयोग लिएर काम गर्ने हो । एक्लै गर्ने कुरा पनि होइन । उपमेयर भएको नाताले उहाँहरुसँग सहयोग लिने वातावरण मैले निर्माण गर्छु । विकास निर्माण अनुगमनको सन्दर्भमा हामीले दिगो तथा गुणस्तरीय विकासमा प्रेरित गर्नेछौं । यसमा पहिला त कर्मचारीहरुलाई सचेत र सजग गराउने कुरा रहन्छ । साथै निर्माण ब्यवसायीहरु र उपभोक्ताहरुलाई दिगो तथा गुणस्तरीय विकासमा उहाँहरुलाई सहजीकरण गर्छाै । ब्यवसायिक क्षेत्रमा हुने केही उपभोक्ता हित संरक्षणका बिपरित हुने क्रियाकलापमा संलग्न ब्यक्ति तथा ब्यवसायीहरुलाई मर्यादित ब्यवसाय गर्न प्रेरित गर्ने,  सुचित गर्ने, सचेत गर्ने र आवश्यक परे कारवाहीको लागि सिफारिस वा कारवाही अगाडि बढाउँदा आम उपभोक्ता र नागरिकहरुको सहयोग सर्मथन आउनेछ त्यसबाट हामीलाई काम गर्न सहज हुनेछ ।

विकास निर्माणको अनुगमनका साथै बजार अनुगमनको क्रममा तपाईहरुकै आफ्ना मतदाताहरु तथा  समर्थक नेता कार्यकर्ता  रुष्ट हुने र भड्किने समस्या आउँछ कि ? 

   – हाम्रो मुख्य उद्देश्य, जुनसुकै काम न्यायिक तरिकाले हुनुपर्छ भन्ने हो । त्यो मान्यतामा हामी अडिग छांै ।  चाहे त्यो विकास काम होस या सेवाका काम होस् ठीक ढंगले हुनुपर्छ भन्ने हाम्रो उद्देश्य छ । चाहे त्यो मतदाता होस् वा नहोस् नगरपालिकाको पदाधिकारीहरुका ध्येयलाई उहाँहरुले पकडेर जानुहुन्छ भन्ने लाग्छ । त्यो भन्दा बाहिर जानेहरुलाई हामी सम्झाउनेछांै , बुझाउनेछौं । असल काम र विकास सबैको चाहना भएकोले त्यसको विपरित कोही जानुहुने छैन ।

विकासकै कुरा गर्दा असारे विकासलाई प्रेरित गर्ने पुरानो प्रचलन कायमै छ, यसलाई बदल्न सक्ने ल्याकत राख्नु हुन्छ ?

– हाम्रो मातहतका योजनाका काम समयमै गर्नेछौं । विभिन्न कारणले ढिलो गरेर बजेट आउने र धेरै प्रक्रिया लाग्ने संघीय र प्रदेशका योजनाका बारे हामी केही गर्न सक्दैनौ । हामीले समयमै हाम्रा योजना समयमै शुरु गर्ने र सम्पन्न प्रयत्न रहन्छ । 

तपाईले पहिलेदेखि नै सुशासनका पक्षमा आवाज उठाउँदै आउनु भएको छ । अहिले जनप्रतिनिधिको हैसियतबाट सुशासनको क्षेत्रमा हिजो भन्दा नयाँ काम केही सोंच्नुभएको छ ? 

 – हामीलाई कर्मचारी पंक्तिले सहयोग गर्नेमा हामी पूर्ण विश्वस्त छौं । नगरपालिका एउटा संगठन हो । नगरपालिकाभित्र जनप्रतिनिधि र कर्मचारीहरु मिलेर मात्र काम सम्पन्न गर्न सकिन्छ ।  त्यो  हामीले महसुस गरेका छौ । उहाँहरु पनि केही नयाँ गर्ने, फरक गर्ने  अभिलाषासहित जागिरमा आउनुभएको छ । काम गर्ने वातावरण बनाउने हाम्रो दायित्व हो । हामीले वातावरण बनायौं भने उहाँहरुले इमान्दारीपूर्वक काम गर्नु हुनेछ । वातावरण बन्दाबन्दै पनि जसले त्यो परिधिभित्र रहेर काम गर्दैन उसलाई सचेत गराउने कुरा पनि हामीले गर्छाैं ।

कर्मचारीहरुले परम्परागत रुपमा काम गर्ने र ढिलासुस्तीलाई बढावा दिने रोग पनि देखिन्छ । सिघ्र सेवा प्रवाहका लागि तपाईँको टिमको नयाँ योजना केही छ कि ? 

    –जहाँ जो सँग समस्या हो । त्यो त्यहि बिन्दुबाट हल हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । सबै कर्मचारी एउटै खालका हुँदैनन् । जुन फाँटका कर्मचारीसँग त्यसका खाल कमजोरी छ, उहाँलाई हामी सचेत गराउँछौं । उहाँहरुको त्यो कारणहरुको जरोसम्म पुगेर पत्ता लगाउछौं । कुनै फ्रस्टेसनको कारण त्यस्तो भएको हुन सक्छ । त्यसको हल गरेर उहाँहरुलाई कामप्रति प्रेरित गर्छाैं ।  जोजसले मान्दैन, त्यही अनुसार अगाडि बढ्छौं । टिम स्प्रीडका साथ आउनेलाई हाम्रो साथ रहन्छ । कुनै समस्या त्यस्ता हुँदैनन्, जसको समाधान नहोस् ।

ब्यक्तिगत रुपमा तपाई कृषि तथा ब्यवसायिक ब्यक्तित्व पनि हो । कृषकले टमाटर फालेको आन्दोलनमासमेत तपाईँ जोडिनु भएको थियो । नगरमा उत्पादित कृषि उपजको बजार ब्यवस्थापनबारे तपाईँका योजना ? 

   –पहिलो कुरा हामीले नगरपालिकामा तथ्यांक मागेका छौं । उपभोक्तालाई आवश्यक सामाग्री कति हो ? उत्पादन कति हो ? भन्ने तथ्यांक मागेका छौं  । काम गर्न तथ्यांक आवश्यक हुन्छ । बजारीकरणका लागि सहकारीहरुलाई जोडेर जाने हाम्रो योजना छ । किसानहरुलाई बढी भन्दा बढी उत्पादनमा जोड्छौं । जति उत्पादन गर्नु हुन्छ, त्यसको हामीले बजारीकरणको ग्यारेण्टी गर्छाैं । उत्पादन लागतका आधारमा कार्यक्रम तयारी गर्छाै ।  संबिधानमै उल्लेख भएअनुसार तीन खम्बे अर्थ नीति अबलम्बन गर्छाैं । एउटा पक्ष समाबेश गर्दा अर्काे पक्षलाई छोड्ने हामी गर्दैनौं ।

नगरले स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकतामा राख्दै आएको छ  ? एउटालाई प्राथमिकतामा राख्दा अर्काे छुट्ने समस्या हुन्छ कि ? 

– त्यस्तो वास्तवमा हुदैन । यो तीनवटा मात्र होइन । काम गर्नुपर्ने बिषय धेरै छन् । अपेक्षा र प्राथमिकताहरु धेरै हुन्छन् । हामीले कृषिलाई दुईवटा कुरा जोडेका छौं । एउटा उत्पादन र अर्काे रोजगारी सिर्जनासँग हामीले यसलाई जोडेका छौ । यसमा रोजगार र स्वरोजगार पनि जोडिएको हुन्छ । त्यस्तै, शिक्षा हाम्रो आवश्यकता हो । यो दीर्घकालीन हुन्छ ।  यो नागरिकको नैसर्गिक अधिकारको बिषय हो । स्वास्थ्य जीवनको सबै भन्दा महत्वपूर्ण पाटो हो । स्वास्थ्य कै कारणले समाज र परिवारमा अप्ठ्यारो पार्ने हुन्छ । हाम्रो परिपेक्ष्यमा स्वास्थ्य महंगो पनि छ । त्यसमा हामीले आधारभूत स्वास्थ्यको कुरा यही तरिकाले ब्यवस्थापन गर्न सक्यौं र बेलैमा ब्यक्तिहरुलाई सचेत गराउन सक्यौ भने धेरै समस्या हल हुन्छन् ।

नयाँ जनप्रतिनिधि आएपछि सामुदायिक बिद्यालयको ब्यवस्थापन समितिमा आफ्ना आसेपासे भर्ती गर्ने देशैभरकै बेथिति छ ? शैक्षिक सवालमा तपाईँहरुको भूमिका कस्तो रहन्छ ? 

– हामीले जसको सवाल हो उसैसँग हल खोज्ने तरिका अबलम्बन गर्छाैं । अर्थात बिद्यालयको सबालमा बिद्यालयबाटै हल खोज्ने हो । केही ऐनमा पनि कुरा उठेको छ । खास गरेर बिद्यालयको अभिभावक शिक्षक, त्यहाँको प्रधानाध्यापक र आवश्यकता अनुसार बिद्यार्थीहरुसंगै बसेर समाधान खोज्ने हो । त्यसैले कोही काखा कोही पाखा  हुँदैन । जसले  सकारात्मक ढंगले काम गर्छ, उही हाम्रो आसेपासे हुन्छ । जसले काम गर्दैन, त्यो जतिसुकै  नजिकको ब्यक्ति भएपनि उसलाई हामीले प्रोत्साहित गर्दैनौं ।

रोजगार प्रबद्र्धनमा तपाईको टिमले के सोचेको छ ? 

     –रोजगार प्रर्वद्धन कुरा गर्दा मुख्य कृषिबाट रोजगार प्रबद्र्धन गर्ने हाम्रो लक्ष्य हो । दोस्रो पर्यटनबाट समेत रोजगार प्रर्बद्धन गर्छाै । यहाँ ऐतिहासिक बुद्धमंगल र कंचनगढी जस्ता पर्यटकीयस्थल पनि छ । त्यो हाम्रो सौभाग्य पनि हो । हामीले बुद्धमंगल ताल क्षेत्रलाई बुद्धसर्किट संग जोड्नेछौ । नजिकै दाउन्ने पनि छ । त्यति मात्र होइन हाम्रो नगर नजिकै निकुन्ज हुनाले त्यहाँ पाइने कतिपय महत्वपुर्ण जीव जनावर यहाँ पनि पाइने भएकोले त्यस्ता जनावर यतै देखिने वातारण बनाउन सक्छौ । धेरै मान्छेहरु त्यसबाट रोजगार स्वरोजगार बन्न सक्छन् ।

पर्यटनको पूर्वाधार बनाउदाँ धेरै लगानी हुने र त्यसको परिणाम तत्काल नदेखिने हुदाँ राज्यको दायित्व मात्र बढेको देखिन्छ । यसमा के भन्नुहुन्छ ?

   – विकास निर्माणको योजनामा निश्चित मान्छेहरु सहभागी हुने र बजेट बिनियोजन गरेर भौतिक पुर्वाधारको काम गर्ने र नजिकका समुदायको राय सुझाव नलिने गरिएकोले त्यस्तो हुन गएको हो । त्यसबाट प्रभावित हुने समुदायसंग सहकार्य नगरेको कारण यो ओझेलमा पर्दै गएको हामीले ठानेका छौं । कुनै स्टार होटलमा बसेर योजना बनाएको अभ्यासका कारण त्यसको प्रभाव परेको छ । हामी सरोकारवालाहरुसँगै जसको सवाल हो, त्यही ब्यक्ति समाज त्यही परिवारसँग छलफल गरेर त्यहाँ आवश्यक विकासको प्रत्याभुति गर्नेछौ । त्यसले धेरै आर्थिक सामाजिक क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्नैछ । त्यसको समग्र विकास हुन्छ ।

नगरमा भएका तालिम तथा अभिमुखीकरण कार्यक्रमहरु नगर भित्रकै सरोकारवाला संघसंस्थाहरुले गर्न पाउने अवस्था छैन । बिधिका नाममा केही लिस्टेड कन्सल्टेन्सीबाट गर्ने प्रबृति छ  । सरोकारवालाको यो गुनासोलाई कसरी लिनुहोला ?

– त्यो बिधि चिर्न सकिन्छ । बिल्कुल सकिन्छ । केही खराब लागेका र असल नलागेका यस्ता बिधिहरु चिर्नकै निम्ति बदल्नकै निम्ति हाम्रो आगमन हो, हाम्रो उपस्थिति हो । हामी त्यस्ता खराब बिधिहरु बदल्छौं । असल लागेका बिधिका अनुभवबाट पाठ सिकेर अगाडि बढ्छौं । अहिले तालिमका लागि तालिम पनि हुने गरेका छन् । रिर्पाेटका लागि मात्रै पनि तालिम संचालन हुँदैछन् । अब त्यस्तो तालिम हँुदैन । कामका लागि तालिम सिपका लागि तालिम र तालिमपछि काम गर्ने गरी योजना ल्याउँछौ ।

बर्दघाट नगरले केही कार्यबिधिहरु बनाएको छ । तपाईहरुले नयाँ केही कार्यबिधि ल्याउने तयारीमा हुनुहुन्छ कि ?

   – त्यो बारेमा हामीले छलफलमा गइसकेका छैनौं । कर्मचारी बृतसँग छलफल गर्छाैं र बस्छौं । हामी बाहिरबाट अनुमान गर्न भन्दा पनि ऐन तथा कार्यबिधि कार्यान्वयन भए÷नभएको उहाँहरुसँगै छलफल गर्छाैं ।

पदबहालीपछि पहिलो निर्णय जनयुद्धका शहीद तथा बेपत्ता परिवारको सम्मान हुने गरी योजना आयो । त्यो तीनवटा निर्णयमा विपन्नलाई बैकल्पिक उर्जा दिने निर्णय पनि छ । अब चोक चोकमा बिजुली बत्ती बल्छन् होइन त ?

– पहिलो निर्णयले जनयुद्धमा प्रभावित भएका परिवारजनलाई सम्मान स्वरुप स्मरण गरिएको हो । यो राहत वा यस्तो केही होइन । राज्य र बिद्रोही पक्ष भएका घटनालाई ताजा गर्ने सन्देश यस दिन्छ भन्ने हाम्रो धारणा छ  । 

दोस्रो बर्दघाट–२ मा बिजुली बिहिन भएका परिवार लक्षित गरेर बैकल्पिक उर्जाको निर्णय गरिएको छ । तराई मधेशमा पनि बिजुलीको समस्या भएका ठाँउ छन् । मुख्यतः बिद्युतबाट नै हल गर्ने हाम्रो योजना छ । बिगतमा भएका सोलार प्लान्ट बारे जगजाहेर छ । हामी बार्षिक बजेटमा त्यो मर्मतको योजना बनाउँछौं । तेस्रो स्वास्थ्यलाई मध्यनजर गर्दै सामुदायिक बिद्यालयमा शुद्ध खानेपानीका लागि  फिल्टर प्लान्ट जडान गर्ने योजना छ ।

संस्थागत बिद्यालयको भर्ना तथा मासिक शुल्कलाई नियमन गर्ने के योजना छ ?

  –बर्दघाट नगरपालिकामा शिक्षा ऐन कार्यान्वयनमा छ । त्यसमा केही समस्या भयो भने ऐन संशोधन गर्दै जानेछौ । ऐनको मातहतमा रहेर सबै चल्नु जरुरी हुन्छ । सामुदायिक र संस्थागत बिद्यालयलाई न्यायको हिसाबले समान रुपले हेर्छाैं । ऐन कार्यान्वयनका हिसाबले पनि उहाँसँग ईमान्दारीपूर्वक  कार्यान्वयनको अपेक्षा गरेका छौं ।

भूमिहीन, सुकुम्बासी तथा अब्यवस्थित बसोबासीलाई कसरी सम्बोधन गर्ने नगरको योजना छ ?

–हामी भूमिहीन, सुकुम्बासीको मर्का तथा मर्मसँग नजिक छौं ।  यो समस्या सधैं राखिरहनु हुँदैन भन्ने हाम्रो बुझाई हो । यो संबिधानले समेत ब्यवस्था गरेको छ  । पहिलो सरकारले नेपालमा अब सुकुम्बासीहरुलाई घरघडेरीको ब्यवस्था गर्ने निर्णय गरेको थियो । बिगतका सरकारहरुले त्यो गर्न सकेनन् । आयोगहरु गठन र बिघटन हुने भइरहेका छन् । हामी भूमि आयोग मार्फत स्थानीय रुपमा सुकुम्बासीहरुका समस्या समाधान गर्ने बचनबद्धता गरेका छौं र त्यो गर्छाैं । आयोगमार्फत ढिलो हुने भयो भने नगरपालिका मार्फत हामीले उहाँहरुलाई अस्थायी निस्सा दिने वा बसोबासी प्रमाणित गर्छाैं । के कुरा कानूनले हामीलाई दिएको छ, त्यो कानुनमा टेकेर उहाँहरुको स्थायीत्वको प्रत्याभूति दिने ब्यवस्था गर्छौं । 








 


Share:
Reaction :
ताजा समाचार
खेलकुद