Media Network

नेपालगञ्ज नाकामा मोबाइल हुनेको मात्र टिबी जाँच


खबरस्टोरी संवाददाता

१६ भाद्र २०७९,बिहीबार

नेपालगञ्ज। नेपालगञ्ज नाकामा क्षयरोग अर्थात् ट्युबरक्युलोसिस(टिबी) जाँच भइरहेको छ।

सरकारले भारतबाट आएका सबै व्यक्तिको टिबी जाँच गर्न भने पनि नाकामा रहेको हेल्थडेस्कमा मोबाइल नहुने व्यक्तिको टिबी जाँच नभएको पाइएको हो।

भारतमा मजदुरी गरेर फर्किएका नेपालीको नेपालगञ्ज नाकामा रहेको हेल्थडेस्कमा टिबी जाँच हुने गर्दछ। मोबाइल नहुने व्यक्तिलाई ‘रोग’ देखिएमा खबर गर्न नसकिने भएकाले उनीहरूको जाँच नै नहुने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन्।

हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीका अनुसार नेपालगञ्ज नाकामा भारतबाट आएका व्यक्तिको खकार संकलन गरिन्छ। त्यसलाई टिबी अस्पतालमा पठाइन्छ अनि रोग देखिएमा उसलाई मोबाइल नम्बरमा फोन गरेर जानकारी दिइन्छ। 

भारतबाट आएका व्यक्ति खकार दिएर घरतर्फ जान्छन्। खकार जाँच गर्न केही दिन लाग्छ। ऊ रिपोर्ट आउन्जेल बस्ने कुरा हुँदैन। खकार रिपोर्ट आउँदासम्म ऊ घरमा पुगिसकेको हुन्छ। मोबाइल नहुने व्यक्तिलाई रिपोर्टबारे खबर गर्न सकिँदैन। त्यसैले मोबाइल नभएका व्यक्तिको खकार जाँच नगरिएको हो।

शंकास्पद व्यक्तिलाई स्थानीय तहमा रहेको स्वास्थ्य संस्थामा गएर टिबी जाँच गर्न सल्लाह दिने गरिएको छ ।

नेपालगञ्ज नाकामा २०७८ साउन १ गतेदेखि टिबी जाँच भइरहेको छ। अहिलेसम्म एक हजार तीन सय जनाको जाँच भइसकेको छ । जसमध्ये १३ जनामा टिबी देखिएको छ।

सरकारले नाकामा कोरोना, मलेरिया, डेंगु, टिबी, कालाजारको जाँच गर्न हेल्थ डेस्क राखेको थियो। यो नाकामा अहिलेसम्म कोरोना, मलेरिया र टिबीको मात्रै जाँच भइरहेको छ। डेंगु र कालाजारको जाँच सुरु नै गरिएको छैन।

कर्णाली प्रदेशका विभिन्न जिल्लाका ठूलो संख्याका मानिस भारतको विभिन्न सहरमा मौसमी काम गर्न जाने गर्दछन्।

चाडबाड नजिकिँदै गएकाले भारतबाट फर्किनेको चाप बढ्दो छ। उनीहरूलाई सरकारले घोषणाअनुसारका सबै रोगको जाँच गर्न जरुरी देखिन्छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद