Media Network

निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै


खबरस्टोरी संवाददाता

२३ आश्विन २०७९,आईतवार

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ।

निर्वाचन आयोगले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयनको समय तोकेको छ। प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवारले मनोनयन दर्ता गर्न जाँदा १३ किसिमका कागजात संलग्न गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ। 

आयोगले सोका लागि आवश्यक संरचना, जनशक्ति र सुरक्षा प्रबन्धसहित सम्पूर्ण व्यवस्था मिलाइ सकेको जनाएको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोग सम्पूर्ण राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षलाई निर्धक्क भएर मतदाताबीच पुगी अनुमोदित हुने आफ्नो अधिकार प्रयोग गर्न आह्वान गरे। उनले मनोनयनपत्र दर्ता गर्दा नेपालको संविधान र विद्यमान कानुनको व्यवस्था र मर्म बमोजिम सबै वर्ग, लिङ्ग, जाति, क्षेत्र र समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवारी मनोनयन गर्न सम्पूर्ण राजनीतिक दललाई आग्रह गरे।

आयोगद्वारा जारी आचारसंहिताको पूर्ण पालना गर्नसमेत सम्बन्धित सबैमा उनले आग्रह गरे। प्रमुख आयुक्त थपलियाले विविध कारणवश केही दलले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम केही पर सारिदिन वा तीन दिनसम्म उक्त कार्यक्रम निरन्तर गर्न आग्रह गरेको भए पनि दलले प्रायःअन्तिम समयमा मात्रै उम्मेदवारी मनोनयनको निर्णय गर्ने प्रवृत्ति रहेको र विद्यमान कानुनी अवस्थाभित्र निर्वाचन कार्यक्रम हेरफेर गर्ने आधार नदेखिएकाले कार्यक्रम यथावत राखिएको स्पष्ट गरे। 

उम्मेदवारले उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

१.उम्मेदवारको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि समावेश गर्नुपर्ने छ।


२.प्रतिनिधि सभाको सदस्य उम्मेदवारको हकमा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र प्रदेश सभा सदस्य उम्मेदवारको हकमा सम्बन्धित प्रदेशको कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा।


३.उम्मेदवारी दिँदा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहमा तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सा। 


४. उम्मेदवार हुने व्यक्तिले आफ्नो तर्फबाट निर्वाचन प्रतिनिधि तोकी उम्मेदवारी मनोनयन गर्ने भएमा प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २४ सँग सम्बन्धित अनुसूची– ११ बमोजिमका प्रतिनिधि मुकरर गरेको फारम।


५.प्रचलित कानुन बमोजिम योग्यता पुगेको व्यक्तिले मनोनयनपत्र दर्ता गर्दा वा गराउँदा प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ८ बमोजिम र प्रदेश सभा सदस्यको लागि प्रदेश सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ८ बमोजिम अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको एक जनाले प्रस्ताव र अर्को एक जनाले समर्थन गरेर विवरण भरी सहिछाप गरेको मनोनयन पत्र।


६. दलको तर्फबाट उम्मेदवारी दिएको भए उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको त्यस्तो दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिको पदाधिकारीले प्रदान गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची ७ बमोजिमको उम्मेदवार मनोनयनको औपचारिक पत्र, तर एकल चुनाव चिह्न लिई संयुक्त रुपमा निर्वाचनमा सहभागी दलहरूको हकमा प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची ७ बमोजिमको उम्मेदवार मनोनयनको औपचारिक पत्र।


७. प्रतिनिधि सभा सदस्यका उम्मेदवारका लागि १० हजार र प्रदेश सभा सदस्य उम्मेदवार हुनका लागि पाँच हजार रुपैयाँ सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा धरौटी जम्मा गरेको रसिद वा भौचर, तर महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा पचास प्रतिशत छुट हुनेछ। आर्थिक रूपले विपन्न भएकाको हकमा सम्बन्धित स्थानीय तहले आर्थिक रुपमा विपन्न भनी सिफारिस गरेको पत्र।


८.उम्मेदवार हुने व्यक्तिले प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १८ सँग सम्बन्धित अनुसूची ६ बमोजिमको स्वघोषणा पत्र।


९.उम्मेदवार हुने व्यक्तिले प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २१ सँग सम्बन्धित अनुसूची ९ बमोजिमको ढाँचामा आफ्नो चल, अचल सम्पत्ति, बैङ्क तथा वित्तीय संस्थामा रहेको खाता, धितोपत्र, सेयर, ऋणपत्र, कसैलाई ऋण दिएको वा लिएको भए त्यसको समेत सम्पूर्ण विवरण उल्लेख गरी सिलबन्दी रूपमा पेस गरेको सम्पत्ति विवरण।


१०.उम्मेदवार हुने व्यक्तिले प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १० सँग सम्बन्धित अनुसूची १० बमोजिम आफू प्रचलित नियम कानुन अनुसार उम्मेदवार हुन योग्य भनी भरिएको वैयक्तिक विवरण फारम।


११.उम्मेदवार हुने व्यक्तिले आफू निर्वाचित, मनोनित वा नियुक्त भएको निकायबाट कुनै पनि प्रकारको पेस्की लिएको भए सो पेस्की फर्स्योट भएको व्यहोराको निस्सा।


१२. लेखा परीक्षणबाट कुनै पनि उम्मेदवारको नाममा किटानी साथ असुल उपर गर्नुपर्ने भनी कायम भएको बेरुजु भए सो बेरुजु फर्स्योट गरेको निस्सा।


१३. निर्वाचन आचारसंहिता, २०७९ को अनुसूची ३ बमोजिमको प्रतिवद्धतापत्र।


उम्मेदवार हुन चाहिने योग्यता के–के हुन 

क.नेपालको नागरिक 

ख. प्रतिनिधि सभा सदस्य निर्वाचनको हकमा कुनै गाउँपालिका वा नगर

पालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र प्रदेश सभा सदस्य निर्वाचनको हकमा सम्बन्धित प्रदेशको कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको 

ग.पच्चीस वर्ष उमेर पूरा भएको 

घ.कुनै सङ्घीय कानूनले अयोग्य नभएको 

घ. कुनै लाभको पदमा बहाल नरहेको

Share:
Reaction :
ताजा समाचार
खेलकुद