Media Network

प्रदेश १ मा प्रतिनिधिसभा/ प्रदेशसभामा नेकपा एमाले ठुलो दल


खबरस्टोरी संवाददाता

१२ मंसिर २०७९,सोमबार

काठमाडौँ। । प्रदेश १ का २८ मध्ये २५ वटा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ।प्राप्त नतिजाअनुसार जसमा नेकपा एमाले ठूलो दल भएको छ  ।

सुनसरी ३, ४ मा मतगणना जारी छ । सुनसरी ३ मा एमाले उम्मेदवार भगवती चौधरीको फराकिलो अग्रता छ । सुनसरी ४ मा कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदिश प्रसाद कुसियैत बीच कडा प्रतिस्पर्धा भइरहेको छ ।


२०७४ सालमा माओवादी केन्द्रसँग तालमेल गरेको एमालेले प्रदेश १ मा १६ वटा क्षेत्र जितेको थियो । जसपा र राप्रपासँग तालमेल गरेको एमालेले यो पटक १२ वटा सिट जितेको छ ।

२०७४ सालमा ६ सिट विजयी भएको माओवादी केन्द्र तीन सिटमा खुम्चिएको छ । पाँच वर्ष अघि ५ वटा क्षेत्र जितेको नेपाली कांग्रेसले यो पटक ८ वटा क्षेत्रमा विजयी भएको छ । जसपा, राप्रपा र स्वतन्त्र उम्मेदवार एक–एक क्षेत्रमा विजयी भएका छन् ।

कसले कहाँ जिते ?

ताप्लेजुङमा एमाले उम्मेदवार योगेश भट्टराई निर्वाचित भएका छन् । २०७४ सालमा पनि उनी नै विजयी भएका थिए । पाँचथरमा पुनः एमाले उम्मेदवार बसन्त नेम्वाङ विजयी भएका छन् ।

इलाम १ मा झलनाथ खनाललाई पराजित गर्दै एमालेका महेश बस्नेत निर्वाचित हुँदा इलाम २ मा एमालेका सुवास नेम्वाङ झिनो मतअन्तरले विजयी भए । २०७४ सालमा इलाम १ बाट खनाल विजयी भएका थिए ।

झापा १ मा कांग्रेस उम्मेदवार विश्वप्रकाश शर्मा विजयी भए । यसअघि सो क्षेत्रबाट माओवादी नेता राम कार्की विजयी भएका थिए । झापा २ बाट एमाले उम्मेदवार देवराज घिमिरे विजयी भए । यसअघि सो क्षेत्रबाट एमाले नेता पवित्रा खरेल निर्वाचित भएकी थिइन् ।

झापा ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भए । २०७४ सालको निर्वाचनमा कृृष्णप्रसाद सिटौलालाई पराजित गरेका उनले यो पटक पनि सिटौलालाई नै हराए ।

झापा क्षेत्र नम्बर ४ मा एलपी सावा र झापा ५ मा केपी शर्मा ओली निर्वाचित भए । २०७४ सालको निर्वाचनमा पनि दुवै उम्मेदवार विजयी भएका थिए ।

मोरङ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका डिगबहादुर लिम्बु, क्षेत्र नम्बर २ मा नेकपा एमालेका ऋषिकेश पोखरेल, क्षेत्र नम्बर ३ मा कांग्रेसका डाक्टर सुनिल शर्मा, क्षेत्र नम्बर ४ मा माओवादीका अमनलाल मोदी, क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल र क्षेत्र नम्बर ६ मा कांग्रेसका डाक्टर शेखर कोइराला निर्वाचित भए ।

२०७४ सालमा क्षेत्र नम्बर १ मा एमालेका घनश्याम खतिवडा, २ मा कांग्रेसका मिनेन्द्र रिजाल, ३ मा एमालेका भानुभक्त ढकाल, ४ मा माओवादी केन्द्रका अमनलाल मोदी, ५ मा माओवादी केन्द्रका शिवकुमार मण्डल र ६ मा एमालेका लालबाबु पण्डित निर्वाचित भएका थिए ।

संखुवासभामा कांग्रेस उम्मेदवार दीपक खड्का निर्वाचित भए । यसअघि सो क्षेत्रबाट एमालेका राजेन्द्र गौतम निर्वाचित भएका थिए । तेह्रथुमबाट कांग्रेस नेता सीता गुरुङ निर्वाचित भइन् । यसअघि सो क्षेत्रबाट एमाले उम्मेदवार भवानीप्रसाद खापुङ निर्वाचित भएका थिए ।

भोजपुरमा माओवादी केन्द्रका सुदन किराती दोहोरिएका छन् । धनकुटामा एमाले नेता राजेन्द्र राई नै पुनः दोहोरिएका छन् ।

सोलुखुम्बुमा नेकपा एमालेका मानबहादुर राई निर्वाचित भए । यसअघि माओवादी केन्द्रका हेमकुमार राई निर्वाचित भएका थिए ।

खोटाङमा नेकपा माओवादी केन्द्रका रामकुमार राई प्रतिनिधिसभा सदस्य निर्वाचित भए । सो क्षेत्रबाट २०७४ सालमा एमाले उम्मेदवार विशाल भट्टराई निर्वाचित भएका थिए ।

ओखलढुंगामा नेपाली कांग्रेसका रामहरि खतिवडा निर्वाचित भए । एउटा निर्वाचन क्षेत्र रहेको सो जिल्लामा यसअघि एमाले नेता यज्ञराज सुनुवार निर्वाचित भएका थिए ।

उदयपुर क्षेत्र १ मा बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट पून: नेपाली कांग्रेसका उम्मेदवार डा. नारायाण खड्का विजयी भएका छन्। निकटम प्रतिद्वन्द्दी नेकपा एमालेको उम्मेदवार मन्जुकुमारी चौधरीलाई पराजित गर्दै विजयी भएका हुन । यस अधिको २०७४ को आम निर्वाचनमा क्षेत्रमा मन्जुकमुमारी चौधरीलाई पाजित पार्दै जित निकालेका थिए ।

उदयपुर क्षेत्र नम्बर २ यसअघि माओवादी केन्द्रका नेता सुरेशकुमार राई निर्वाचित भएका थिए । यो पटक एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित भए । सो क्षेत्र यो पटक माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादी पार्टीका नेता जगन्नाथ खतिवडालाई छाडेको थियो ।

सुनसरी क्षेत्र नम्बर १ मा जसपा नेता अशोक राई १७ हजार ५९ मतसहित विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले १६ हजार ६०६ मत पाइन् । २०७४ को निर्वाचनमा यो क्षेत्रबाट नेकपा एमालेका जयकुमार राई अशोक राईलाई हराएर विजयी भएका थिए ।

सुनसरी क्षेत्र नम्बर २ मा नेकपा एमालेका भीम आचार्य निर्वाचित भएका छन् । २०७४ सालमा सो क्षेत्रबाट कांग्रेस नेता सीताराम मेहता निर्वाचित भएका थिए ।

प्रदेशसभा सदस्य तर्फ


प्रदेश १ मा प्रदेशसभा तर्फ ५४सिटको  निर्वाचनमा अहिलेसम्मको मतपरिणाममा नेकपा एमाले पहिलो दल बनेको छ । २०७४ को निर्वाचनमा ३६ सिटमा विजयी हुँदै ठुलो द लबनेको एमाले यस पटकको निर्वाचनमा खुम्चिएको छ । हालसम्मको मतपरिणाम मा एमाले २४ ठाँउमा विजयी भएको छ भने मत गणना भइरहेको ठाँउमा अग्रता लिन सकेको छैन ।

२०७४ को निर्वाचनमा दोस्रो दल बनेको नेकपा माओवादी पनि यस पटक तेस्रो द लबनेको छ । २०७४ मा १० सिट जितेको माओवादी यस पटकको निर्वाचनमा ९ सिटमा खुम्चिएको छ ।

त्यस्तै नेपाली कांग्रेसले भने यस पटक आफ्नो सिट बढाएको छ ।२०७४ सालको निर्वाचनमा ८ सिट जितेको कांग्रेसले यसपटक १४ सिट जितेको छ। मतगणना भइरहेको तीन स्थानमा कांग्रेसले अहिले २स्थानमा अग्रता लिइरहेको छ । प्रदेश १ मा नेकपा एकिकृत समाजवादीले राम्रो जमानत राख्न सकेको छैन । अहिलेसम्म २ सिट जितेको समाजवादीले एक स्थानमा अग्रता लिएको छ । 

२०७४ मा अन्यबाट २ सिटमा विजयी भएका थिए भने यसपटकको निर्वाचनमा राप्रपाले २ स्थानमा विजयी भएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद